• Friday 9th of October 2026

मेयरसँग असहमति जनाउँदै २ महिनामै छोडे बुटवल उपमहानगरका हाकिमले


  • धनकुटा खबर
  • .

२२ कात्तिक,बुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयको कार्यशैलीसँग असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसाल दुई महिनामै फिर्ता भएका छन् ।

भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए । प्रमुख प्रशासकीय अधिकृत भुसालले मेयर पाण्डेय र आफ्नो काम गर्ने शैली नमिलेपछि काठमाडौं फर्केको बताए ।

उपमहानगरको कार्यपालिका वैठकको अघिल्लो दिन नै मेयरसँग विवाद भएर भुसाल काठमाडौं गएपछि कार्यपालिका बैठक प्रभावित हुने देखिएको छ ।

बुटवल उपमहानगरपालिकाका कर्मचारी स्रोतका अनुसार मेयर पाण्डेयले करारका कर्मचारी हटाएर आफू निकटका व्यक्तिलाई नियुक्ति र अनुदान वितरण गर्न दबाब दिएका तर प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालले कार्यपालिका वैठकबाट पारित नगरी विधि प्रक्रिया र कानूनविपरीत आफूले निर्णय नगर्ने अडान लिएपछि मेयरले तत्काल बुटवल छाड्न दबाब दिएका थिए ।

‘मेयर र मेरो काम गर्ने शैली मिलेन,म कानुन,विधि, पद्दति र ब्युरोक्रेसीको सिस्टम अनुसार काम गर्ने मान्छे हुँ’, ‘प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, ‘मेयरलाई सहयोग गर्न भनेरै बुटवल आएको थिएँ तर विधि प्रक्रिया नसमलेको कुरा नगरौं भन्दा उहाँले मान्नुभएन, कानुनले भने अनुसार काम गर्ने हो, व्यक्तिले भनेर गर्ने होइन ।’

बुटवल उपमहानगरमा राम्रो काम गर्न सक्ने ब्युरोक्रेसी रहेको २ महिनामा आफूले अनुभव गरेको भुसालले बताए ।प्रमुख प्रशासकीय अधिकृत भुसाल फिर्ता भएको र उनीसँग भएको विवादबारे बुझ्न मेयर पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल, प्रवक्ता शिव राना र उपमहानगरपाकिलाका प्रेस विज्ञ सीपी खनाललाई पालैपालो सम्पर्क गर्दा कसैले पनि फोन रिसिभ गरेनन् ।

मेयर पाण्डेयकै जोडबलमा आएका भुसाल यति छोटो समयमै बुटवल छाड्ने निर्णयले पनि उनीहरू बीच विवाद रहेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖