• Tuesday 6th of October 2026

क्रिकेटरले पाए पूर्वघोषित पुरस्कार रकम


  • धनकुटा खबर
  • .

दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार पूर्वघोषित नगद पुरस्कार प्रदान गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र खेलकुद मन्त्रालयका सचिव रविलाल पन्तले टोलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा नगद पुरस्कार प्रदान गरेका थिए।

आईसीसी विश्वकप लिग २ अन्तर्गत फागुन २५ देखि चैत २ गतेसम्म नेपाल, यूएई र पपुवा न्युगिनीबीच काठमाडौंमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी चारै खेलमा जित निकाल्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडी रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, प्रतिस जिसी, मोहम्मद आसिफ शेख, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख, ललितनारायण राजवंशी, गुलशन झा र कुशल मल्ललाई जनही २ लाख प्रदान गरियो ।

मुख्य प्रशिक्षक मोन्टी देसाइलाई १ लाख ५० हजार तथा सहायक प्रशिक्षक वसन्त शाही, टिम व्यवस्थापक शम्भुप्रसाद शर्मा र फिजियो विक्रम न्यौपानेलाई १–१ लाख प्रदान गरियो।

वैशाख ५ देखि १८ सम्म भएको नेपालसहित १० राष्ट्र सम्मिलित एसीसी पुरुष प्रिमियर कप क्रिकेटको उपाधि जित्नुका साथै एसिया कपमा छनोट भएको टोलीका प्रत्येक खेलाडीलाई जनही ५ लाखबाट पुरस्कृत गरियो।

मुख्य प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षक, टिम व्यवस्थापक र फिजियोलाई जनही २ लाख पुरस्कार प्रदान गरियो । प्रिमियर कपमा सहभागिता जनाएको टोली र लिग २ को टोलीमा टिम व्यवस्थापक मात्र फरक हुन्। प्रिमियर कपको व्यवस्थापकमा रुपक रन्जित थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖