• Tuesday 6th of October 2026

राष्ट्रिय टोलीको कप्तानमा इन्दु नियुक्त


  • धनकुटा खबर
  • .

अलराउन्डर इन्दु वर्मा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएकी छिन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार हङकङ टुरको लागि घोषणा गरेको टोलीमा इन्दुलाई कप्तानको जिम्मेवारी दिइएको हो । यसअघि टोलीको कप्तान रहेकी रुविना टोलीको सदस्य रहँदा बायाँ हाते ब्याटर विन्दु रावललाई उपकप्तान बनाइएको छ । पुर्व उपकप्तान सीता राना मगर पनि टोलीमा सदस्य छिन् । टोलीमा कन्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन नयाँ खेलाडी रहेका छन् ।

क्यानका सचिव पारस खड्काले इन्दुलाई यस प्रतियोगिताका लागि कप्तान नियुक्त गरिएको जानकारी हाम्रो खेलकुदलाई दिए । ‘इन्दुलाई यस प्रतियोगितामा पहिलो पटक कप्तानको जिम्मेवारी दिएका छौँ । छनोट समिति र क्रिकेट म्यानेजरबाट नै नेतृत्व परिवर्तनको लागि सिफारिस भएकाले हामीले बोर्ड बैठकबाट नै यो निर्णय लिएका हौं । रुविना खेलाडीको रुपमा अझैपनि प्रदर्शन गर्न सक्ने खेलाडी हो, त्यसैले कप्तानमा मात्र परिवर्तन गरिएको हो,’ खड्काले भने ।

‘हामीले यसलाई दिर्घकालीन रुपमा पनि हेर्नुपर्छ । महिला क्रिकेटले निकै सम्भावना बोकेको छ र यस प्रतियोगितामा इन्दुलाई जिम्मेवारी दिएका छौं,’ उनले थपे ।

नेपालले हङकङमा चार देश सम्मिलित टि२० सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् ।

नेपाली टोली:

इन्दु वर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, सम्झना खड्का, खुसी डंगोल, पुजा महतो, कन्चन श्रेष्ठ, सोमु विष्ट, सोनी पाख्रिन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖