काठमाडौं। नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन्।
भावी सेनापतिको रुपमा चर्चामा आएका जर्नेल पाण्डेले आफूमाथि छानविन भएको थाहा पाएपछि राजीनामा दिएका हुन्। सैनिक स्रोतका अनुसार, उनको राजीनामा अहिले प्रधानसेनापतिको सचिवालयमा छ। नियमत सेनापतिले रक्षा मन्त्रालय पठाएर मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनुपर्दछ।
लेफ्टिनेण्ट जनरल पदमा पदोन्नतिका लागि सेनाले सार्वजानिक सूचना निकालिसकेको र त्यसको एकमात्र हकदार देखिएको अवस्थामा उनको प्रमाणपत्रमा विवाद निस्केको थियो।
यसै प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रक्षामन्त्रालयलाई तत्काल छानविन गर्न पत्र लेखेपछि उनको प्रमाणपत्रबारे छानविनको प्रक्रिया आरम्भ भएको बुझिएको छ।
तीनतारे जर्नेल हुनबाट रोक्ने गरी छानविन शुरु गराइएको भन्दै असन्तुष्टीस्वरुप उनले राजीनामा दिएको स्रोतको दावी छ।
