• Friday 9th of October 2026

अब गर्भवती महिला प्रहरीलाई छुट्टै पोसाक


  • धनकुटा खबर
  • .

काठमाडौ । गर्भवती महिला प्रहरीलाई नेपाल प्रहरीले अब छुट्टै पोसाक दिने भएको छ । अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको छ । नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन् ।

बुधबार बसेको प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको छ । ‘गर्भवती अवस्थामा महिला प्रहरीलाई अहिलेकै पोसाक लगाएर काम गर्न गाह्रो हुने भएकाले सहज हुने पोसाक दिन लागेका हौँ,’ प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले भने, ‘कतिपटक दिनेलगायतका विषयमा भने अझै छलफल हुँदै छ ।’

प्रहरीका अन्य पोसाक वितरणलाई थप व्यवस्थित गर्न पनि प्रहरी प्रधान कार्यालयले छलफल थालेको छ । सिभिलमा काम गर्ने प्रहरीलाई अन्य कपडा खरिदका लागि नगद नै दिने तयारी छ । साथै, कतिपय चुस्त र कार्यालयको काममा लगाउने कपडा पनि आवश्यकताअनुसार वैज्ञानिक ढंगले वितरण गर्ने प्रहरी तयारी छ ।

प्रहरीले आफैँ पोसाक खरिद गरी कर्मचारीलाई दिँदै आएको छ । खरिदमा हुने चलखेलले कपडाको गुणस्तर भने कमजोर हुने गरेको प्रहरी कर्मचारीको गुनासो छ । साथै, पोसाकलगायत स्केलका सामान समयमा र पर्याप्तसमेत प्रहरीले पाउने गरेका छैनन् । -नवराज मैनाली/नयां पत्रिका दैनिक

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖