• Sunday 4th of October 2026

पाकिस्तानसँगको खेलपछि के भन्छन् नेपालका प्रशिक्षक मोन्टी देसाइ?


  • धनकुटा खबर
  • .

काठमाडौ । एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरुद्धको पहिलो खेलमा पराजित भएपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले उच्चस्तरको प्रतियोगिता खेल्ने नेपालको यात्रा सुरु भएको बताएका छन्।
उनले नेपालले राम्रो सुरुवात गरे पनि पाकिस्तानका विश्वस्तरीय खेलाडीका कारण पराजित हुनु परेको बताए।

‘हाम्रा ब्याटरले विश्वस्तरीय बलरको सामना गरेका थिए। मेरो विचारमा हामीले पाकिस्तानसँगको खेलबाट सिक्नका साथासाथै के के राम्रो गर्‍यौं भनेर पनि हेर्न पर्छ,’ उनले भने, ‘हाम्रा बलरले खेलका लागि तयारी गरेका थिए। हाम्रो राम्रो सुरुवात भएको थियो। हामीले टस हारेर पहिले बलिङ गर्‍यौं। बाबर र इफ्तिखरको साझेदारीले हामीलाई अप्ठेरो पार्‍यो। हुन पनि बाबर विश्वस्तरीय खेलाडी हुन्।’

उनले नेपालले फिल्डिङमा भने खराब प्रदर्शन गरेको स्विकार गरे। समग्रमा नेपालको विश्वस्तरीय टिमसँग खेल्ने सपना पूरा भएको पनि उनले बताए।
‘यो स्तरमा खेल्ने नेपाली खेलाडीको सपना थियो। आज खेल्न सुरु भएको छ। यो सुरुवात हो। हामी सिक्दै अघि बढ्छौं। के के सुधार गर्न पर्छ हेर्दै जान्छौं,’ उनले भने।

अब भारतसँगको खेलमा केन्द्रीत हुने उनको भनाइ छ।
‘हामी अब भारतसँगको खेलमा केन्द्रीत हुन्छौं। त्यसअघि भारत र पाकिस्तानका खेल हेर्छौं। खेलबाट हामीलाई तयारी गर्न मद्दत गर्छ,’ उनले भने।

नेपाली टिम आफ्नो दोस्रो खेलका लागि बिहीबार विहान पाकिस्तानबाट श्रीलंकातर्फ गएको छ। बुधबार समूह ‘ए’ को खेलमा नेपाल घरेलु टिम पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो।

अब नेपालले समूहको दोस्रो खेलमा भारतसँग भदौ १८ मा खेल्नेछ। खेल श्रीलंकाको क्यान्डीमा हुनेछ। त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामै खेल हुनेछ।

प्रतियोगिताम अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिएका छन्।

पाकिस्तान र श्रीलंका एसिया कप २०२३ को सह-आयोजक हुन्। एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो। त्यसैले खेलहरु श्रीलंकामा पनि हुन लागेका हुन्। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर-फोर चरणमा प्रवेश गर्नेछन्। त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖