• Thursday 8th of October 2026

हङकङसँगको नमिठो हारसँगै नेपाल टी-२० सिरिजको फाइनल पुग्न असफल


  • धनकुटा खबर
  • .

चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ।

नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ फाइनलमा पुग्यो। तान्जानिया पनि दुई जित सहित फाइनलमा पुगेको छ। अन्तिम खेलअघि नेपाल र जापान भने फाइनलमा पुग्न असफल भए।
आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको थियो। जसका कारण नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमै मात्र १ विकेट गुमाएर पार गर्यो।

हङकङका लागि नतासा माइल्सले नटआउट ३० रन र शान्जिन शाहजादले नटआउट २० रन जोडे। त्यसअघि मारिको हिललाई कप्तान इन्दू बर्माले ५ रनमा रनआउट गरेकी थिइन्।

त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमै अलआउट भयो।

नेपालका सुरूवाती ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। दोस्रो ‌ओभरमा ओपनर पूजा महतोलाई ४ रनमा रनआउटको रुपमा गुमाएपछि नेपालको लगातार विकेट गएको थियो।

तेस्रो ओभरमा नेपालविरूद्ध हङकङकी इक्रा सहरले ह्याट्रिक गरेकी थिइन्। उनले २.३ ओभरमा सम्झना खड्कालाई १ रनमा आउट गरेपछिको दुई बलमा नेपालका काजल श्रेष्ठ र इन्दू बर्मालाई डकआउट गर्दै ह्याट्रिक गरिन्। उनले ह्याट्रिक गर्दा नेपालले २.५ ओभरमा ५ रन जोड्दा ४ विकेट गुमाएको थियो।

त्यसपछि विन्दू रावल र कन्चन श्रेष्ठ समान १-१ रनमा आउट भए। लगातार विकेट गएको बेलमा रूबिना क्षेत्रीले नेपालको इनिङलाई केही सम्हालिन्। उनले २५ रनको योगदान गरिन्। रुचिताबाट बोल्ड हुनअघि उनले ३० बलमा ४ चौका प्रहार गरिन्।

त्यसपछि अस्मिना कर्माचार्य शून्य र संगिता राई २ रनमा आउट भए। रोमा थापा ७ रनमा नटआउट रहिन्।

बलिङमा हङकङकी इक्रा सहरले ३ विकेट लिँदा रुचिताले २ विकेट हात पारिन्।

हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलित महिला टी-२० सिरिजमा बुधबार तान्जानियासँगको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको थियो।

अब नेपालले लिगको अन्तिम खेल जापानसँग मंसिर २ गते खेल्नेछ। शीर्ष २ मा रहनेले उपाधिका लागि खेल्नेछ भने बाँकी २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। यससँगै नेपालले लिग चरणको खेलमा जापानसँग खेलेपछि फेरि जापानसँगै तेस्रो स्थानका लागि खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖