• Thursday 8th of October 2026

नेपालको फाइनल पुग्ने सम्भावना समाप्त


  • धनकुटा खबर
  • .

हङकङमा चलिरहेको चार राष्ट्रबीचको टी–२० क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । सिरिजमा लगातार दुई खेलमा हार सामना गरेपछि नेपाल अन्तिम दुईमा पुग्न नसकेको हो । घरेलु टोली हङकङसँग नेपाल नौ विकेटले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल तान्जानियासँग स्तब्ध भएको थियो । वाङ नाई मैदानमा बिहीबार नेपालले खराब ब्याटिङ प्रदर्शन गर्दा १८ ओभरमा ५६ रनको झिनो योगफलमा अलआउट भयो ।

प्रत्युत्तरमा हङकङले नौ ओभरमा ६.३३ रनरेटमा ब्याटिङ गरी लक्ष्य पार गर्‍यो । हङकङले नौ ओभरमा एक विकेट गुमाएर ५७ रन जोडेको थियो । हङकङकी नतासा मिलेसले २३ बलमा ३० रनको नटआउट इनिङ्स खेलिन् । उनले चार चौका प्रहार गरिन् । साजिन साहजादले २७ बलको सामना गरी तीन चौकाको मद्दतमा २० रन जोडिन् । ओपनर मारिको हिल पाँच रनमा रनआउट भइन् । हङकङले १.१ ओभरमा पहिलो विकेट गुमाएको थियो । कप्तान इन्दु बर्माको सीधा थ्रोमा हिल रनआउट भएकी हुन् ।

नेपालको बलिङमा पूर्वकप्तान रुविना क्षेत्रीले एक ओभरमा १० रन दिइन् । संगिता राईले तीन ओभरमा १६ रन दिइन् । कप्तान इन्दुले दुई ओभरमा १० रन दिइन् । नेपालको बलिङ आक्रमणमा पाँच बलरले बलिङ गरेका थिए । पूजा महतोले इनिङ्समा एक वाइड फ्याँकिन् ।

हङकङको कसिलो बलिङ
उपाधि दाबेदारका रूपमा हेरिएको हङकङले बलिङ उत्कृष्ट गर्‍यो । इक्वारा साहरले कसिलो बलिङ प्रदर्शन गरेकी थिइन् । उनले चार ओभरमा एक मेडन राखी केवल ६ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । उनले आफ्नो बलिङ स्पेलमा दुई वाइड फ्याँकेकी थिइन् । यसैगरी भेनकेतेस्वरले तीन ओभरमा नौ रन खर्चेर दुई विकेट लिइन् । वेटी चाङ, हिल र कायल चानले समान एक विकेट लिएका थिए । हिलले तीन ओभरमा १४ रन खर्चेकी थिइन् । हङकङका सिमर र स्पिनरले कसिलो बलिङ प्रदर्शन गरेका कारण नै नेपाली ब्याट्सम्यानले सोचेजस्तो रन बनाउन सकेनन् ।

१० ब्याट्सम्यान दोहोरो रन बनाउन चुके
खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीबाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा लामो समयसम्म टिक्न सकेनन् । रुविनाले सर्वाधिक २५ रनको योगदान दिइन् । उनले ३० बलमा चार चौका प्रहार गरिन् । काजल श्रेष्ठ र कप्तान इन्दु सामना गरेको पहिलो बलमै आउट भए । यसैगरी, अस्मिना कर्माचार्य पनि शून्यमै पेभेलियन फर्किइन् । सम्झना खड्का, बिन्दु रावल र कञ्चन श्रेष्ठले एक रन मात्र बनाए । सो इनिङ्समा पूजा महतो र सीता रानामगरको ओपनिङ जोडीले पहिलो विकेटका लागि चार रनको साझेदारी गरेका थिए । नेपालले पहिलो पाँच विकेट १८ रनभित्र गुमाएको थियो । नेपालले ४८ रनको योगफलमा दुई खेलाडी गुमायो । नेपालले पाँच रनको योगफलमा तीन विकेट गुमाएको थियो ।

सहरको ह्याटिक
हङकङकी सहरले आफ्नो दोस्रो ओभरमै ह्याट्रिक लिइन् । उनले इनिङ्सको २.३ ओभरमा सम्झना खड्कालाई क्याच आउट गराइन् । २.४ ओभरमा अनुभवी ब्याट्सम्यान काजोल श्रेष्ठलाई क्याच आउट नै गरिन् । ह्याट्रिक बल सामना गर्न नेपालकी कप्तान इन्दु आएकी थिइन् । सहरको सीधा आएको बललाई कट गर्ने प्रयासमा उनी बोल्ड आउट भइन् । सहरको ह्याट्रिक ओभरसँग हङकङले नेपालमाथि दबाब बनायो । जुन अन्तिमसम्म कायम नै रह्यो । -नयां पत्रिका

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖