• Thursday 8th of October 2026

विश्वकप जितेपछि अर्जेन्टिनाको पहिलो हार


  • धनकुटा खबर
  • .

उरुग्वेसँग स्तब्ध भएसँगै कप्तान लियोनल मेसी विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाको अपराजित यात्रालाई जारी राख्न असफल भएका छन्।

बुनोस आयर्सस्थित ला बोम्बोनेरा स्टेडियममा सम्पन्न विश्वकप छनोटमा उरुग्वेसँग २–० ले स्तब्ध भएसँगै अर्जेन्टिनाको अपराजित यात्रामा पूर्णविराम लाग्न पुग्यो। नयाँ प्रशिक्षक मार्सेलो बिएल्साले प्रशिक्षण समालेपछि उरुग्वेको लागि यो सबैभन्दा ठूलो सफलता पनि हो।

गत वर्ष विश्वकपको समूहचरणमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार पनि हो। सन् २०१६ मा विश्वकप छनोटको खेलमा नै पाराग्वेसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाले घरेलु मैदानमा एउटा खेल पनि हारेको छैन।

यता, ब्राजिलले पनि विश्वकप छनोट यात्रामा खराब नतिजा जारी राखेको छ। ब्राजिलले पनि कोलम्बियासँग उसैको घरेलु मैदानमा २–१ को हार सामना गर्‍यो। यससँगै ब्राजिलले जारी विश्वकप छनोटमा लगातार दोस्रो हार सामना गरेको छ।

स्ट्राइकर लुइस डियाजले दुई गोल गर्दै कोलम्बियालाई महत्त्वपूर्ण जित दिलाए। उनले दुवै गोल हेडरमार्फत गरे। विश्वकप छनोटको १५ खेलमा ब्राजिलविरुद्ध कोलम्बियाको यो पहिलो जित पनि हो। यो हारका बाबजुद पनि अर्जेन्टिना १० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी विश्वकप छनोटमा शीर्ष स्थानमा छ।

पाँच खेलमा अर्जेन्टिना १२ अंक र उरुग्वे १० अंकसहित शीर्ष दुई स्थानमा छन्। कोलम्बियाको ९ अंक र भेनेजुएलाको आठ अंक छ। ब्राजिल सात अंकसहित पाँचौं स्थानमा छ। इक्वोडर, पाराग्वे र चिलीले पाँच अंक बटुलेका छन् भने बोलिभिया र पेरुले समान एक अंक जोडेका छन्।

अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा हुने सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। दक्षिण अमेरिकी क्षेत्रबाट कुल १० राष्ट्रमध्ये ६ राष्ट्रले सीधै विश्वकपमा स्थान बनाउनेछन्।

सातौं स्थानको टोलीले भने अन्तरमहादेशीय प्लेअफमार्फत विश्वकप खेल्ने अवसर पाउनेछ। उरुग्वेले विश्वच्याम्पियन अर्जेन्टिनाविरुद्ध राम्रो सुरुआत गरेको थियो। डार्विन नुनेजले १०औं मिनेटमा नै नजिकबाटै गोल गर्ने अवसर पाएका थिए।

अर्जेन्टिनी डिफेन्डर निकोलस ओटामेन्डीको गल्तीको फाइदा उठाउँदै उनले गोल गर्ने अवसर हुन्। तर, सफल भएनन्। विश्वकप जितेपछि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीको मिडफिल्डरले पहिलोपटक संघर्ष गरे। ४२औं मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै अग्रता दिलाए।

त्यसपछि पहिलो हाफमा नै अर्जेन्टिनाले पनि गोल फर्काउने अवसर बनाएको थियो। तर, मेसीको फ्रिकिक र ओटामेन्डीले नजिकबाट गरेको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेतले उत्कृष्ट बचाउ गरे। त्यससँगै पहिलो हाफमा उरुग्वे १–० ले अगाडि रह्यो।

दोस्रो हाफमा पनि उरुग्वेले अर्जेन्टिनामाथि दबाब बनायो। यता, मेसी र एन्जल डी मारियाले पनि उत्कृष्ट अवसर गुमाए। ५७औं मिनेटमा मेसीको प्रहार बारमा ठोक्किन पुग्यो। ८७औं मिनेटमा नुनेजले काउन्टर अट्याकमार्फत गोल गर्दै उरुग्वेलाई जित दिलाए।

‘आजको खेलमा कुनै समय पनि हामी सहज अवस्थामा रहेनौं,’मेसीले भने, ‘उरुग्वे शारीरिक रूपमा बलियो र राम्रो टोली हुन्। त्यसैले उनीहरूसँग खेल्दा कठिन नै हुने गर्छ।’

त्यो खेलमा उरुग्वेका भेट्रान स्ट्राइकर लुइस स्वारेज पनि मैदान फर्किएका थिए। तर, उनले खेल्न पाएनन्। यसअघिको पहिलो खेलमा उरुग्वेले ब्राजिललाई पनि सोही अन्तरले हराएको थियो। उरुग्वेले अर्को खेल बोलिभियाविरुद्ध खेल्नेछ। यता, अर्को महारथी ब्राजिलले स्टार नेइमार र कासेमिरोको अनुपस्थितिमा कोलम्बियासँगको खेल सुम्पियो।

खेलको चौथो मिनेटमा नै गाब्रियल मार्टिनेलीको गोलबाट ब्राजिलले अग्रता लिएको थियो। तर, ब्राजिलले त्यो अग्रता जोगाउन सकेन। २५औं मिनेटमा भिनियस जुनियर चोटका कारण बाहिरिएपछि खेलमा कोलम्बियाले दबाब बनायो।

७५औं मिनेटमा डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए। त्यसको चार मिनेटपछि नै उनले दोस्रो गोल गरे। त्यो गोल नै कोलम्बियाको जितका लागि पर्याप्त बन्यो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖