• Thursday 8th of October 2026

२००३ को भन्दा यसपटक नतिजा फरक हुनेछ : गांगुली


  • धनकुटा खबर
  • .

अहमदावाद । विश्वकप क्रिकेटको फाइनलमा आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन् । खेलअघि दिग्गज क्रिकेटरहरूले भारतीय टोलीलाई उपाधिको बलियो दाबेदारका रूपमा वर्णन गरेका छन्। भारतीय क्रिकेट टोलीका कप्तान रहिसकेका सौरभ गांगुलीले यस प्रतियोगितामा भारतले अहिलेसम्म देखाएको खेल जस्तो खेल्नुपर्ने बताएका छन् । आइतबार पनि भारतीयले यस्तै खेल देखाए भने रोक्न गाह्रो हुने उनको भनाई छ।

सन् २००३ को विश्वकपमा अस्ट्रेलियाविरुद्ध फाइनल खेलेको टोलीको नेतृत्व सौरभ गांगुलीले गरेका थिए । त्यसमा भने भारतले हार बेहोरेको थियो । गांगुलीले यस पटकको नतिजा फरक हुने विश्वास व्यक्त गरेका छन् ।

गांगुलीले शुक्रबार पत्रकारहरूलाई भने, ‘भारत यो खेलमा अवसरको सदुपयोग गर्न तयार छ। अहमदावादमा हुने खेलको लागि हाम्रो शुभकामना छ। भारतले प्रतियोगितामा अहिलेसम्म निकै राम्रो खेलेको छ । अस्ट्रेलियालाई प्रतियोगिता जित्न अझै एक खेल बाँकी छ । भारतले अहिलेसम्म जसरी खेलेको छ, त्यसरी नै खेलिरह्यो भने रोक्न गाह्रो हुनेछ । तर, दुवै टोली बलियो भएकाले भारत र अस्ट्रेलियाबिचको खेल निकै राम्रो हुनेछ ।’

पूर्व प्रशिक्षक शास्त्रीले के भने ?

पूर्व मुख्य प्रशिक्षक रवि शास्त्रीले विश्वकप भारतले जित्ने बताएका छन् । उनले भने, ‘भारतले छुट्टै केही गर्नुपर्दैन । उनीहरूले पछिल्ला दुई खेलमा जसरी खेलेका छन्, त्यसरी नै खेल्नुपर्छ । म चाहन्छु कि भारतीय टोली शान्त रहोस् र दबाबको सामना गर्न नहिचकिचाउनुहोस्। अहिले हरेक भारतीय क्रिकेटर राम्रो खेलिरहेका छन्, जुन राम्रो सङ्केत हो ।’

अस्ट्रेलियाका पूर्व क्रिकेटर माइकल बेभनले पनि यो प्रतियोगिता जित्ने सम्भावना भएको टोली भारत भएको बताएका छन् । उनले भने, ‘टस जुन टोलीले जित्छ, त्यसको माथिल्लो हात हुन सक्छ । अस्ट्रेलियाको टोलीले पनि राम्रो ब्याटिङ गरिरहेको छ । सुरुवाती खेलमा पछि परे पनि त्यसपछि राम्रो खेल देखाएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖