• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

निगमले किन घटाएन डिजेलको मूल्य ?


  • धनकुटा खबर
  • .

इन्डियन आयल आयल कर्पोरेसन (आईओसी) बाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन। डिजेलको मूल्य लिटरमा ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा घटेर आए पनि ग्यासमा प्रति सिलिन्डर २ सय ८० रुपैयाँ घाटा भएको भन्दै निगमले मूल्य नघटाएको हो।

मूल्य घटेर आउँदा निगमलाई डिजेलमा ३४ करोड रुपैयाँ नाफा भए पनि ग्यासमा ३४ करोड नै घाटा रहेकाले मूल्य समायोजन नगरेको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक बिरेन्द्र गोईतले बताए। डिजेलको मूल्य घटेर आएकाले घटाउनु पर्ने उपभोक्ताको माग रहेको छ। आईओसीबाट हरेक १५–१५ दिनमा नयाँ मूल्य आउँछ। त्यसका आधारमा मूल्य निर्धारण हुन्छ। निगमलाई आईओसीबाट प्राप्त मूल्यमा २३ करोड नाफा रहेको छ।

सरकारलाई ऋण तिर्न बाँकी रहेकाले घाटा पूर्ति गर्न मूल्य समायोजन नगरेको निगमका नायब कार्यकारी निर्देशक गोइतले बताए। निगमका अनुसार सरकारलाई ७० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ। स्वचालित मूल्य प्रणाली अनुसार निगमले गत महिना ग्यासको मूल्य सिलिन्डरमै २ सय १५ रुपियाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपियाँ, पेट्रोलमा २ रुपैयाँ र हवाई इन्धनमा ८ रुपियाँ बढाएपछि चौतर्फी आलोचना भएसँगै मूल्य वृद्धि फिर्ता लिएको थियो।

सरकारले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिए पछि स्वचालित मूल्य प्रणाली रोकिएको थियो। अहिले झापा चारआली, विराटनगर, जनकपुर, बारा अमलेखगन्ज, भैरहवा भलबारी, नेपालगन्ज, धनगढी, वीरगन्जमा पेट्रोल लिटरको १ सय ६९ रुपैयाँ ५० पैसा, डिजेल लिटरको १ सय ६५ रुपैयाँ ५० पैसा रहेको छ।

त्यसैगरी सुर्खेत र दाङमा पेट्रोल लिटरको १ सय ७१ रुपैयाँ, डिजेलको १ सय ६७ रुपैयाँ, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल लिटरको १ सय ७२, डिजेलको १ सय ६८ रुपैयाँ रहेको छ। यो मूल्य यथावत् रहेको निगमले जनाएको छ।

आइओसीबाट मूल्य घटेर आएकाले निगमले मूल्य घटाउन सक्ने भन्दै पेट्रोल पम्प सञ्चाकलले कम तेल उठाएका छन्। यसले गर्दा बजारमा तेलको आंशिक अभाव देखिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖