• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर पनि निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने


  • धनकुटा खबर
  • .

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा भन्दै शितलनिवास र बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, तोकिएको निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार, शितलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला भएर धर्ना, घेराउ लगायतका कार्यक्रम गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड भएर शान्ति, सुरक्षा भंग हुनसक्ने तर्क गर्दै प्रशासनले यो आदेश जारी गरेको हो ।

मंगलबारै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि मन्त्री निवास पुल्चोक क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरेको छ । काठमाडौं प्रशासनले सोमबार मात्रै माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

७ मंसिरमा युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले आयोजना गरेको छुट्टाछुट्टै शक्ति प्रदर्शनको कार्यक्रमको पूर्वसन्ध्यामा प्रशासनले यो निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖