काठमाडौं, ६ मंसिर । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका एक सय ५३ जनाले ज्यान गुमाए । उक्त भूकम्पमा परी तीन सय ५० जनाभन्दा बढि घाईते भए । भूकम्पपछिको उद्दार र घाईतेहरुको उपचारमा सरकारले तदारुकता देखाएपनि अस्थायी आवास निर्माणको काम अगाडि बढ्न सकेको छैन ।
भूकम्प गएको १९ दिन वितिसक्दा पनि अस्थायी आवास निर्माणको काम शून्य छ । भूकम्पका कारण ३५ हजारभन्दा धेरै घरहरुमा क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा बस्न लायक घर कुनै पनि छैनन् । प्रभावित क्षेत्रका मानिसहरु अहिले त्रिपालमुनि रात कटाइरहेका छन् । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विरामीहरुलाई त्रिपालको बास झनै कष्टकर बनेको छ । चिसोका कारण उनीहरुमा अनेकौं स्वास्थ्य समस्या देखिन थालेको छ । चिसोका कारण केहीले ज्यान समेत गुमाइसकेका छन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भूकम्पमा परी १२ जनाले ज्यान गुमाएका थिए । उक्त गाउँपालिकाभित्रका पाँच हजारभन्दा बढि घरहरुमा भूकम्पले क्षति पुर्याएको थियो । उक्त गाउँपालिका पाँच हजार घरपरिवार अहिले त्रिपालमुनि बास बसेर रात काटिरहेका छन् । जोडो मौसममा त्रिपालमुनिको बास कष्टकर छ । बालबालिका, बृद्धबुद्धा, दीर्घ रोगी र अशक्तहरुका लागि त्रिपालमुनिको बास झनै कष्टकर बनेको छ ।
सानी भेरी गाउँपालिका– १ की एक वृद्ध महिलाको पीडा घर भत्किएको मात्रै छैन । भूकम्पमा उनले छ जना आफन्त गुमाउन पर्यो । उनले बुहारी, नाती नातिनी गरी छ जनालाई गुमाईन् ।
