काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएर सेक्रेटरी समेत भइसकेका एक व्यक्ति यतिबेला रुसी सेनामा भर्ना भएका छन् । माओवादी हुँदै पछिल्लो समय विप्लवको पार्टीमा आबद्ध डायमण्ड सी म्याग्देली भ्लादिमिर पुटिन राष्ट्रपति रहेको रुसी सेनामा भर्ना भएका हुन् ।
रुसी सेनामा नेपाली नागरिकको भर्ती गैरकानुनी भएपनि कैयन नेपालीहरु भर्ती भइसकेको बताइएकै बेला उनी समेत सेनामा भर्ती भएको पाइएको हो । आफू रुसी सेनामा भर्ती भएको डायमण्डले नै सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् ।
चार दिनअघि सामाजिक सञ्जालमा ‘लेनिनको देशबाट रातो सलाम’ भन्दै उनले आफू रुसी सेनामा भर्ना भएको जानकारी गराएका छन् ।
‘लेनिनको देशमा पुगेर पुटिनको सिपाहीको रुपमा जिम्मेवारी सुरु गरेपश्चात विविध कारणले करिब १ महिना सामाजिक सञ्जालमा उपस्थिति जनाउन सकिएन’, उनले भनेका छन्, ‘यद्यपि सवैप्रतिको मिठो सम्झना यथावत् नै थियो–छ । राइफल त हिजो दशवर्षे जनयुद्धमा पनि बोकेकै हो र आज पनि बोकिएको छ । तर उद्देश्य नितान्त भिन्न छ, अर्थात हिजो नेपाली जनताको मुक्तिको लागि र आज पराई भूमिको रक्षा एवम् आफ्नो पारिवारिक व्यवस्थापनको लागि ।’
पार्टी विभाजन पछि २०७१ मै विप्लव नेतृत्वको नेकपाको म्याग्दी जिल्ला सेक्रेटरी भएको उनले बताएका छन् । अहिले केन्द्रीय सदस्य नै बन्ने अवस्था रहेपनि विभिन्न बहानामा पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दै आफू र पार्टीलाई समेत बदनाम गर्नुभन्दा बरु विदेश गई रगत–पसिना बगाएर परिवारको उचित व्यवस्थापनसँगै पार्टी तथा आन्दोलनलाई भिन्न ढंगले सहयोग एवम् समर्थन गर्नु नै वेहत्तर लागेको उनको भनाइ छ ।
