• Sunday 4th of October 2026

आफ्ना अन्तर्राष्ट्रिय मेडल खरिद गरिदिन महावीर पुनको अनुरोध


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जनै पूर्णिमाको अवसरमा आफ्ना अन्तर्राष्ट्रिय मेडल खरिद गरिदिन अनुरोध गरेका छन् । बिहीवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै पुनले मेडल खरिद गरिदिन अनुरोध गरेका हुन् ।

नेपाल सरकारबाट पाएका मेडल बेच्न नपाउने भए पनि अन्तर्राष्ट्रिय मेडल किनेर मानिसहरूले घर वा सङ्ग्रहालयमा राख्न सक्ने उनले बताएका छन् ।

“आज जनै पूर्णिमाको शुभदिनमा केही पैसा भएका साथीहरू मिलेर २० देखि २५ लाख सम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरू किन्नु होस् त,” उनले लेखेका छन्, “नेपालको पदक चाहिं बेच्न नपाइने भयो ।”

मेडलहरूमध्ये सन् १९९२ मा अमेरिकामा पाएको अनर ग्रयाजुएट मेडल, सन् २००७ मा फिलिपिन्समा पाएको र्‍यामन म्यागसेसे र सन् २०१४ मा अमेरिकामा पाएको इन्टरनेट हल अफ फेम रहेका छन् ।

यी मेडलहरू खरिद गर्ने व्यक्ति वा समूहलाई आफूले पाएका धेरै किसिमका सम्मान पत्र, टोकन अफ लभ र उपहारको थुप्रो सित्तैमा दिइने उनको भनाइ छ ।

यी मेडल बिक्री गरेर आएको रकम पुनले वीरगञ्जको कृषि औजार कारखानामा ३०० देखि ४०० केभीएसम्मको एउटा बिजुली ट्रान्सफर्मरमा खर्च गर्ने बताएका छन् । यो कार्य दशैँअघि नै राख्ने पुनको लक्ष्य छ ।

उनले अगाडि लेखेका छन्, “तिहारपछि त्यहाँ केही औजारहरू उत्पादन सुरु गर्ने योजना छ । किनभने त्यो कारखानाको करिब ८० प्रतिशत जति पुराना मसिन मर्मत भैसके। बाँकी मसिन मर्मत भएनन् ।”

त्यसबाहेक पनि प्रकाशन हुन लागेको महावीर पुनको जीवन कथा ‘महावीर पुनको सम्झना र सपना’ बिक्री गरेर आएको रकम पनि कारखानामै खर्च गरिने उनले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖