रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले माओवादीलाई अपराधी करार गर्ने खेल सुरू भएको बताएका छन् । आइतबार जिल्लाको माडी गाउँपालिका २ स्थित एक कार्यक्रममा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।
“माओवादीलाई शून्य बनाउने खेल सुरू भएको छ, अपराधी करार गर्ने खेल सुरू भएको छ । साम्राज्यवादीहरूले माओवादीलाई सिध्याउनुपर्छ भनिरहेका छन्,” विप्लवले भने ।
देशमा सबैभन्दा खराब शक्ति माओवादी नै भएको भ्रम फिजाइएको भन्दै उनले त्यसको प्रतिवाद गरे । “माओवादीलाई सिध्याउने भनेर मज्जैले लागेका छन् केही शक्तिहरू । बाहिर जनतामा सबै कमजोरीहरू माओवादीले नै गरेको हो भन्ने बनाउन खोजिएको छ । तर, त्यसो होइन । यो भ्रम मात्रै हो,” उनले भने ।
उनले वर्तमान व्यवस्थाको मुख्य दाँवधारी माओवादी नै जिकिर गरे । “अन्य दलहरूको पनि निश्चितरूपमा सहयोग रह्यो । तर, मुख्य त यो व्यवस्था प्राप्त गर्ने सन्दर्भमा माओवादीले नै योगदान गरेको छ । तर, अरुलाई पचेको छैन,” उनले भने ।
क्रान्तिकारीहरू सकिने र दलालहरूले सत्ता प्राप्त गर्ने क्रम चलिरहँदा माओवादीहरू मिल्नुको विकल्प नरहेकोसमेत उनले बताए ।
