• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कारागारमा कैदीको मृत्यु भएपछि अनुगमन


  • धनकुटा खबर
  • .

सप्तरी। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम मधेस प्रदेश कार्यालय, जनकपुरधामको टोलीले मङ्सिर १० गते राजविराज नगरपालिका-६ स्थित जिल्ला कारागारको अनुगमन गरेको छ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, एडभोकेसी फोरम मधेस प्रदेशका संयोजकसमेत रहेका अधिवक्ता राजकुमार महासेठ सम्मिलित टोलीले जिल्ला कारागारको निरीक्षण तथा अनुगमन गर्नुका साथै मङ्सिर ५ गते कारागारमा मृत्यु भएका कैदी ६५ वर्षीय नन्दीलाल मण्डलबारे जानकारी लिएको छ।

टोलीले मृतक मण्डलका परिवारका सदस्य, अस्पतालका कर्मचारीका साथै कैदीबन्दीसँग छलफल गरेको छ। १ सय २५ जना बन्दी क्षमता रहेको जिल्ला कारागारमा कैद तोकिएका १ सय ९३ जना र कैद नतोकिएका २ सय ४४ जना बन्दी गरी ४ सय ३७ जना कैदीबन्दीहरू रहेका छन्।

जसमा १० जना महिला कैदी र १४ जना महिला बन्दी रहेका छन्। कारागारभित्र १७ जना पुरुष र १ जना महिला भारतीय कैदीबन्दी रहेका छन्। जीर्ण कारागारमा झण्डै चार गुणा कैदीबन्दीहरू कोचिएर बस्नुपर्ने अवस्थाले बस्न समस्या भएको चौकिदार कामेश्वर यादवले बताए।

कारागारका निमित्त प्रशासक सदानन्द दासका अनुसार फैसला ढिलो हुँदा ठूलो सङ्ख्यामा कैदी भन्दा बढी बन्दीहरु राख्नु परेको र करिब ५० जना कैदीबन्दीहरू दिर्घरोगी रहेका छन्।

कैदीबन्दीको चापले सुत्नका साथै शौचालय र ट्युववेल प्रयोगमा कठिनाइ भएको कैदीबन्दीहरुले बताए। हिँडडुल गर्ने ठाउँ, खेलकुद सामग्री र पुस्तकहरूको अभाव भएको र सीपमुलक तालिमको व्यवस्था नभएको बन्दी कोशिलादेबी दासले बताइन्।

टोलीले कारागारमा मृत्यु भएका कैदी मण्डलको राजविराज नगरपालिका-१५ मुसहरनियाँस्थित घर गएर उनको परिवारसँग घटनाबारे जानकारी लिएको छ । टोलीले मृतकका छोरा केशवकुमार मण्डल, दाजु महेशनारायण मण्डलसहित परिवारका सदस्यहरुसँग छलफल गरेको छ।

कैदी मण्डलको उपचार र मृत्युका बारेमा अस्पताल पुगेर टोलीले जानकारी लिएको छ। खुट्टा सुन्निएको तथा झमझमाउने र पोल्ने गरेको कैदी मण्डलको स्वासप्रस्वासमा समस्या देखिएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पतालमा उपचार भएको थियो।

मंसिर ५ गते विहानको खाना खाएर केहीबेर आराम गरेपछि शौचालय गएका मण्डल निक्लेर ट्युवेलमा हातखुट्टा धोइरहेका बेला एक्कासी लडेर बेहोस भएपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको निमित्त कारागार प्रशासक दासले बतए।

अस्पताल पुर्‍याउनु अघि नै मण्डलको मृत्यु भइसकेको भनेर डाक्टर अमित यादवले मङ्सिर ५ गते दिउँसो १२ः१० बजे मृत घोषणा गरेका थिए। अस्पताल ल्याउँदा मृत्यु भइसकेको शवको पोष्टमार्टम सोही अस्पतालमा डाक्टर राजेन्द्रप्रसाद साहको टोलीले मङ्सिर ६ गते विहान गरेको आकस्मिक कक्षका प्रमुख धनेश्वर साहले बताए।

शवको भिसेरा रिपोर्टका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएकोले मृत्युको कारण आउन केही दिन लाग्ने अस्पतालका रेकर्डर ममता साहले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖