• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

माओवादी-नेसपा एकता : दुबै दलकाे संयुक्त संयोजन समिति गठन गरिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)बीचको पार्टी एकताले मूर्त रुप लिन लागेको छ ।

लामो समयदेखिको तीव्र रस्साकस्सीकाबीच अन्ततः दुबै पार्टी एकताबद्ध हुन तयार भएका छन्। एक वर्ष अघि देखि थालिएको पार्टी एकता विविध कारणले अन्योलग्रस्त बनेकोे थियो

नेसपामा एकताको विषयमा दुई धार देखिएपछि पार्टी एकतामा बिलम्ब भएको बताइएको थियो। बाबुराम लगायतका नेताहरु एकताको विपक्षमा देखिपछि अर्का अध्यक्ष महिन्द्रराय यादव पक्ष एकता गर्ने तयारीमा रहेका थिए।

नेसपाभित्र तीव्र आन्तरिक दबावमा रहेका अध्यक्ष बाबुराम पनि एकता गर्न सहमत भएपछि दुबै पार्टीले एकतालाई अन्तिम रुप दिने तयारी थालेका छन्।मंसिर ६ मा बसेको नेसपा केन्द्रीय समितिको बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेपछि पार्टी एकताले मूर्तरुप लिन लागको हो।

माओवादीका तर्फबाट एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ लगायतको वार्ता टोली र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको वार्ता टोलीले एकता प्रक्रिया टुंगोमा लगाउन आन्तरिक छलफलमा जुटिरहेका छन्।

दुबै पक्षको आन्तरिक छलफल पछि पार्टी एकताका लागि दुबै दलका नेताहरु सम्मिलित एकता संयोजन समिति गर्ने अन्तिम तयारी भइरहेको वार्ता टोली सदस्य रहेका माओवादी महासचिव देव गुरुङले जानकारी दिए।

उनले नीतिगत रुपमा एकताको लागि दुबै दलका नेताहरु तयार रहेको बताउँदै तत्काल एकता प्रक्रियालाई मूर्तरुप दिन संयोजन समिति गठन गर्न लागिएको बताए ।

उनले डिसी नेपालसँग भने, ‘एकता प्रक्रिया अघि बढाएका छौं। राजनीतिक, सैद्धान्तिक विषयमा सहमति जुटिसकेको छ । अब दुबै दलका नेताहरु सम्मिलित एकता संयोजन समित गठन गर्ने तयारीमा छौं।’

महासचिव गुरुङका अनुसार दुबै दलका नेताहरुले संयुक्त रुपमा एकताका लागि संयोजन समिति केही दिनमै घोषणा गर्ने तयारी थालिएको हो।

पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा प्रारम्भिक सहमति भएको र आगामी दिनमा त्यसलाई कार्यान्वयन गर्ने दुबै पक्षको तयारी रहेको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖