आक्रामक ब्याटर किरण ठगुन्ना र अलराउन्डर नरेन साउदको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले केपी ओली कप टि२० प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ४ विकेटले हराएको छ । नेटरनरेटको कारण पराजित भएपनि पुलिस समूह सी बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
जितको लागि १ सय ५९ रनको मध्यम विजयी लक्ष्य सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सुदुरको जितमा किरण ठगुन्ना ३४ बलमा ४ चौका र २ छक्कासहित ५१ रनमा नट आउट रहे ।
नारायण जोशी ७ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे । नारायणले करण केसीलाई विजयी छक्का हानेका थिए ।
एक समय ७.४ ओभरमा ४६-५ को दयनीय अवस्थामा पुगेपनि छैटौं विकेटका लागि किरण र नरेनले ९३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नरेन साउद ३० बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।
ओपनर तथा कप्तान राजु रिजाल १६ बलमा ४ चौकासहित १९, गजेन्द्र बोहरा डक, आयुब चन्द ५, बसन्त कार्की १५ र सुरज तिवारी शून्यमा आउट भए । पुलिसका राशिद खानले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सुनिल धमाला र सागर ढकालले १-१ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । पुलिसका ओपनर कुशल भुर्तेलले ५१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६७ रन बनाएपनि जितको लागि पर्याप्त भएन । अर्का ओपनर सुनिल धमला ४० बलमा २ चौका र २ छक्कासहित ४२ रनमा आउट भए ।
ओपनर सुनिल र कुशलले पहिलो विकेटका लागि १३.२ ओभरमा १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए । अर्जुन साउद २०, आरिफ शेख २, दीलिप नाथ ४ र करण केसी ७ रन बनाए ।
सुदुरपश्चिमका विकाश आग्रीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । भोजराज भट्ट र बसन्त कार्कीले १-१ विकेट लिए । सुदूरपहिलो खेलमा मधेशसँग ५८ रनमा अल आउट हुँदै ८ विकेटले पराजित भएको थियो । उक्त लक्ष्य मधेशले ४.४ ओभरमा पूरा गरेपछि नेटरनरेटमा भारी परेको हो ।
समूह डी मा मधेश, पुलिस र सुदूरको २ खेलमा समान १ मा जित र हारका साथ २(२ अंक रह्यो । तर नेटरनरेटका कारण पुलिस शीर्ष, मधेश दोस्रो र सुदूर पुछारमा रह्यो ।
समूह ए बाट बागमती र समूह बी बाट एपिएफ सेमिफाइनलमा पुगेका छन् । अव समूह डी बाट आर्मी र कोशी प्रदेश मध्य एक सेमिफाइनलम पुग्नेछन् । बागमतीले समूह डी को विजेतासँग सेमिफाइनल खेल्नेछ । पुलिसले एपिएफसँग सेमिफाइनलमा भिड्नेछ ।
