भारतको उत्तराखण्डको एक सुरुङमा फसेका ४१ जना मजदुरको आज मङ्गलवार १७ औँ दिनमा उद्धार हुँदैछ ।
उद्धारका लागि शुरुमा पहिरो पन्छाउने प्रयास भएकोमा त्यहाँबाट सम्भव नभएपछि पहाड माथिबाट एउटा ठाडो र अर्को तेस्रो प्वाल बनाइएकाे थियो । ठाडोतर्फको प्वालबाट मजदुरलाई निकाल्ने अन्तिम तयारी भइरहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अबको तीनदेखि चार घण्टामा उद्धार कार्य सकिने अपेक्षा रहेको प्रहरीले जनाएको छ । ९० सेन्टिमिटर व्यास भएको पाइप जडान गरिएकोले त्यहाँबाट एक/एक जना गर्दै मजदुरलाई बाहिर निकल्नुपर्नेछ ।
एक जना निकाल्न तीनदेखि पाँच मिनेट लाग्ने अनुमान छ । उद्धार गरेका मजदुरलाई अस्पताल लैजानका लागि एक दर्जनभन्दा धेरै एम्बुलेन्स तयारी अवस्थामा छन् । प्राथमिक उपचारका लागि सुरुङ स्थलमै आठ शय्याको अस्पताल स्थापना गरिएको छ । यदि मजदुर गम्भीर भएमा उद्धारका लागि हेलिकप्टर पनि तयारी अवस्थामा छ । अस्पतालमा सबै सुविधासहित डाक्टरलाई खटाइएको छ ।
उद्धार हुने भएपछि मजदुरका परिवारमा खुशीयाली छाएको छ । फसेका मजदुरको उद्धारका लागि अमेरिकाबाट समेत मेशिन र इन्जिनियर झिकाएर काम भइरहेको थियो । तर कहिले पहिरो जाने र कहिले मेशिन शिग्रने भएपछि उद्धारमा ढिलाइ भएको हो ।
फसेका मजदुरहरूलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको थियो ।
अन्तिम अपडेट: मंसिर १२, २०८०
