• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ओलीले निम्तो नगरेपछि मध्यपहाडी लोकमार्ग उद्घाटन यात्रामा भीम रावल सहभागी नहुने


  • धनकुटा खबर
  • .

काठमाडौं,१३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको छैटौं केन्द्रीय कमिटीको निर्णयअनुसार भोलिबाट मध्यपहाडि (पुष्पलाल) लोकमार्ग केन्द्रित विशेष अभियान ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ कार्यक्रम सुरु हुँदैछ ।

तीन हप्तासम्म चल्ने कार्यक्रमको उद्घाटनका लागि अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साझ कैलालीको धनगढी पुगेका छन् ।

अध्यक्ष ओलीसहितका शीर्ष नेताहरु कार्यक्रममा सहभागी हुन बुधबार बिहानै बैतडीको झुलाघाट निस्किएका छन् ।

एमालेले बिहीबार बिहान ९ बजे पश्चिम बिन्दु झुलाघाटदेखि सुरु गर्ने पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ।

यात्राका क्रममा एमालेले ठाउँ-ठाउँमा आमसभाको आयोजना गर्नेछ। बैतडीको झुलाघाटमा पदयात्रा शुभारम्भ कार्यक्रमको तयारी पूरा भएको नेकपा एमालेले जनाएको छ ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्यपहाडी लोकमार्गको पदयात्रा सुरु गर्दैछ।

एमालेले झुलाघाटबाट सुरु गर्न लागेको अभियानमा पूर्व उपाध्यक्ष तथा नेता डा भीम रावल भने सहभागी नहुने भएका छन् ।

रावलले अध्यक्ष ओलीले निम्तो गरे आफू कार्यक्रममा सहभागी हुने सन्देश पठाएका थिए। पदयात्राको लागि आफूलाई निम्ता नगरिएको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।

उनले केन्द्रीय नेतृत्वले आफूलाई जानकारी नगराएको दाबी गरेका छन् । ‘अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो, महासचिवसँग कुरा गर्दा इच्छा हुनेले जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईं झुलाघाट जानु परेन अछाम आफ्नै किसिमले गए हुन्छ,’ रावलले जैसीको भनाई उद्धृत गर्दै लेखेका छन्, ‘अब सबै विवेकशील व्यक्तिले सोचौँ, यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा ? ’

रावल पछिल्लो समय एमाले नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् । चितवनमा सम्पन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका रावल र ओलीबीच त्यो समयदेखि नै सम्बन्ध राम्रो छैन । गत साउन ३० गते उपाध्यक्ष विष्णु पौडेललगायतको पहलमा पार्टी मुख्यालय च्यासलमा ओली र रावलबीच छलफलसमेत भएको थियो ।

उक्त छलफलपछि रावलले पार्टीमा जिम्मेवारी पाउन अपेक्षा कार्यकर्ताले गरेका थिए । यद्यपि रावलले हालसम्म पनि पार्टीमा जिम्मेवारी पाएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖