• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रभित्र काम सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं । पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु भएको छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अरू काम पनि सुरु गरेको छ ।

प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प निर्माणलगायतका अन्य काम अघि बढाएको खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण प्रवर्द्धन आयोजना प्रमुख दिनेशकुमार नापितले बताए ।

विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले डिलिङका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका मोड मिलाउने सहमतिअनुसार काम अघि बढेको उनको भनाइ छ ।

आयोजना प्रमुख नापितका अनुसार पेट्रोलियम पदार्थ उत्खनन गर्न कर्णाली राजमार्गबाट सहज भए माघबाट दैलेखमा पेट्रोलियम पदार्थ डिलिङको अर्को चरणको काम सुरु हुनेछ । दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषण विं.सं. २०७६ साल असोजदेखि सुरु गरिएको थियो ।

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि नै सम्पन्न गरिसकेको छ । सरकारले यसअघि भैरवी गाउँपालिका–१ जलजलेमा जग्गा अधिग्रहणको काम गरिसकेको छ ।

यसअघि नेपाल सरकारसँगको सम्झौताअनुसार चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भे गरिएको छ।

दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुङ्गेश्वरलगायतका क्षेत्रलाई आधार बनाएर चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖