• Sunday 4th of October 2026

सुन तस्करसँग सुन गाल्ने साना–ठुला ७ वटा मेसिन


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ परेकाहरुसँग ७ वटा सुन गाल्ने मेसिन भेटिएको छ । पक्राउ गरिएका चिनियाँ, नेपाली र भारतीय नागरिकको बयानका आधारमा अहिलेसम्म ७ वटा सुन गाल्ने मेसिन फेला परेको केन्द्रीय अनुसन्धान ब्यूरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

ती अधिकृतका अनुसार ५ वटा मेसिन ठुलो आकारका र दुई वटा मेसिन सानो आकारको फेला परेको छ । ठुलो मेसिनले ५ केजी सुन एकै पटकमा गाल्छ । सानो मेसिनले दुई केजी सुन एक पटकमा गाल्ने आरोपितहरुले बयान दिएका छन् ।

बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोले बाँसबारी र चावहिलबाट दुई वटा साना आकारका मेसिन बरामद गरेको थियो । ती साना मेसिनमार्फत एक पटकमा दुई केजी सुन गाल्न सकिने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

सुन प्रकरणमा संलग्नहरुले ‘संगठित र व्यवस्थित’ रुपमा सुन ल्याएर काठमाडौँमा गलाउने र त्यसपछि बिस्कुट आकारको बनाएर भारत पठाउने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

राजस्व अनुसन्धान विभागले १४ साउनमा टोखास्थित सुन ‘रिफ्रेमिङ’ कारखानामा छापा मारेको थियो । सो कारखानाबाट ठुलो आकारको सुन गाल्ने मेसिन बरामद गरिएको थियो । भारतीय नागरिक थाप्तेन छिरिङको बयानको आधारमा टोखामा कारखाना भेटिएको राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

विभागले सुन पगाल्ने रसायन पनि बरामद गरेको थियो । गाल्ने मेसिन र रसायन विभागले सीआईबीको जिम्मा लगाएको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई सुम्पिएको थियो । हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो ।

सुन प्रकरणमा संलग्नहरु विरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले ‘संगठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङकङबाट काठमाडौँ ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो ।

सुन तस्करीमा संलग्न आरोपमा हालसम्म २५ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖