• Thursday 8th of October 2026

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्छौं : कप्तान देव खनाल


  • धनकुटा खबर
  • .

नेपालको युवा टोलीले मंसिर २२ गतेदेखि युएईमा सुरु हुने एसिसी यू-१९ एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ।

नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने मंगलबार बताए।

प्रतियोगितामा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको समूह ‘ए’ मा छ। तर पनि नेपाली टोली यो समूहबाट सेमिफाइनलमा पुग्ने आशा गरेको छ।

नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यू-१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको बताए।

उनले सिनियर टोलीले पनि राम्रो गरिहेको र आफूहरु पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए।

भारत र पाकिस्तानबिरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेका सबै यू-१९ टोलीका लागि राम्रो अवसर पनि रहेको कप्तान खनालले धारणा राखे । त्यसैले सबै जना यो समूहमा राम्रो नतिजासँगै राष्ट्रिय टोलीको यात्रा बनाउन पनि आतुर रहेको बताए।

यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ।
नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल-२ मा खेल्नेछ।

दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।

समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आयोजना गरेको बिदाई कार्यक्रममा नेपाली टोलीका कप्तान देवसँगै प्रशिक्षक जगत टमटाले बिना दबाबमा राम्रो प्रदर्शन गर्ने धारणा राखे।

उनले सिनियर टोलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफ्नो टोली थप उत्साहित रहेको बताए। यो यात्रा अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेलले पनि युवा टोलीले राम्रो एक्सपोजर पाएको उनको विश्वास छ।

नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो।नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।

यो तयारीका लागि नेपालले दुई हप्ताको अभ्यास गरेको छ। यस क्रममा नेपालले फरक फरक पिचमा आफूलाई अभ्यस्त बनाएको पनि प्रशिक्षक टमटा बताए।

युद्धमा जाँदै सबै जित्नकै लागि जाने उल्लेख गर्दैै प्रशिक्षक टमटाले राम्रो क्रिकेट खेल्दै जित निकाल्ने विश्वास व्यक्त गरे।

क्यानका सचिव पारस खड्काले सिनियर टोलीले पाएको सफलतालाई पछ्याउँदै युवा टोलीले पनि राम्रो नतिजा ल्याउनेमा सबै आशावादी रहेको बताए।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले संसारलाई जित्ने क्षमता नेपाली क्रिकेट टोलीसँग रहेको प्रोत्साहित गर्दै सिनियर टोलीले जस्तै युवा टोलीले पनि राम्रो नतिजा ल्याउने आसा व्यक्त गरे।

अब खेलाडीले जितेको दुई हप्ताभित्र नै पुरस्कार पाउने वातावरण सिर्जना गरिरहेको बताए। युवा टोलीले पाउनुपर्ने पुरस्कार पनि २-३ दिनमा नै सबैको खातामा आउने उनको मन्त्री लिम्बूले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖