• Sunday 4th of October 2026

७ दिन बित्यो तर अझै फेला परेनन् मेजर पण्डित


  • धनकुटा खबर
  • .

काठमाडौं । आज शनिबार । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका ७ दिन पुग्यो । जिल्लास्थित तिनवटै सुरक्षा निकाय र स्थानीयको संयुक्त टोलीले खोजी गरे पनि अहिलेसम्म उनको अवस्था अज्ञात नै छ ।

उनको खोजीमा परिचालित टोलीले भेरी किनारमा एक शव फेला परेपछि पण्डितबारे दुःखद खबर हो कि भन्ने आशंका गरिएपछि जाजरकोटकी महिलाको भएको पुष्टि भएको थियो । मेजर पण्डितको खोजीमा तीनवटै सुरक्षा निकायबाट विशेष टोली परिचालित भए पनि हालसम्म फेला पर्न नसकेपछि सुरक्षाकर्मीको संख्या र खोजीको दायरा बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताए।

‘उहाँ (मेजर पण्डित) को खोजी निरन्तर भइरहेको छ। तीनवटै सुरक्षा निकायबाट खोजीका लागि सुरक्षाकर्मी खटिएका छन्,’ पोखरेलले भने । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव बुढाथोकीले मेजर पण्डितको खोजीमा सेनाका दुवै गणसहित आफूहरू फिल्डमा खटिएको भए पनि कुनै प्रगति भने नभएको बताए ।

मेजर पण्डित आफ्नो सुरक्षा गार्ड नलिई आइतबार साँझ दुनैस्थित ब्यारेकबाट निस्किएर जिप रिजर्भ गरी त्रिपुराकोटसम्म पुगेको जनाइएको छ । त्यसपछि उनको स्थानीय एक व्यापारीलाई फोनपेमार्फत २६ हजार ट्रान्सफर गरिदिएर उनीसँग नगद लिएर त्यहाँबाट हिँडेको जनाइएको छ । र सोही दिन उनले परिवारसँग फोन सम्पर्क गरेको देखिएको छ। तर त्यसपछि भने उनको मोबाइलको स्वीच अफ रहेको पहरीले जनाएको छ ।

‘उनले आफैँप्रति कुनै अप्रिय घटना घटाउने मनसायले ब्यारेक नछाडेको पनि अनुमान लगाउन सकिन्छ । यदि त्यस्तो हुन्थ्यो भने त्रिपुरासुन्दरीबाट २६ हजार नगद केका लागि लिन्थे होला र ?,’ खोजीमा खटिएका एक प्रहरीले भने । अहिले प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र, भेरी नदी किनारतिर खोजी केन्द्रित गरिएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖