• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आर्थिक संकट समाधान गर्न सरकार लाग्नुपर्छ : अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

बागलुङ, मंसिर २१ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक संकट समाधान गर्न वर्तमान सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ ।

आर्थिक संकटका कारण प्रथम चौमासिकमै सरकारले कर्मचारीलाई तलब भुक्तानी गर्न सकिरहेको छैन, उहाँले भन्नुभयो, ‘‘कर्मचारीलाई तलब भुक्तानी गर्न नसक्ने सरकारले विकास निर्माण कसरी अगाडि बढाउन सक्छ ? ।’’ आर्थिक संकटका कारण देशमा विकास निर्माण ठप्प भएकाले अर्थतन्त्र सुधार्ने योजना ल्याउन उहाँले सुरकारलाई सुझाव दिनुभयो ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको आठौं दिन आज विहीबार बागलुङ बजारमा आयोजित सन्देश सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘‘अहिलेको सरकार आर्थिक रुपले चरम असफलतामा गयो । अर्थतन्त्र संकटमा परेको छ । कर्मचारीलाई तलब भुक्तानी गर्न राष्ट्र ऋण उठाउनु परेको छ ।”

सररकारले राष्ट्रहितको पक्षमा पनि काम गर्न नसकेको उहाँले बताउनुभयो । राष्ट्रिय हितका पक्षमा बोल्न नसक्ने सरकारबाट जनताले धेरै आशा गर्न नसक्ने उहाँले चर्चा गर्नुभयो । “एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामहरु अहिले ठप्प छन् । गरिबी बढेको छ । युवा पलायन भएका छन् । बैंक र ऋणीहरुका बीच सम्बन्ध तनावपूर्ण छ । यस्तो अवस्थमा सरकारलाई कसरी हामी सफल भयो भन्न सक्छौं ?’’ उहाँले जिज्ञासा गर्नुभयो ।

नेकपा (एमाले) ले देशको विकास र समृद्धिका लागि चालेका कदमबाट विपिक्षहरु तर्सिएर विरुद्धमा लागेको उहाँले टिप्पणी गर्नुभयो । देशको विकास र समृद्धिका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले मध्यपहाडी लोकमार्गको परिकल्पना र निर्माणको काम एमाले सरकारका पालामा भएको चर्चा गर्दै लोकमार्गको अवस्था बुझ्न र जनताका समस्या, गुनासोहरु सुन्न समृद्धिका लागि सङ्कल्प यात्रा लिएर जनतासमक्ष आएको उहाँले बताउनुभयो ।

‘एमालेले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्छ, देशमा शुसासन ल्याउँछ, विकास र समृद्धि ल्याउँछ । त्यसका लागि देशमा राष्ट्रिय शक्ति निर्माणको आवश्यकता छ’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय शक्तिको अगुवाइ एमालेले गर्दछ । देशभक्त, राष्ट्रप्रेमी शक्तिलाई गोलबद्ध गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षा एमालेले गर्छ’ उहाँले भन्नुभयो । देशलाई समृद्ध र सुखी बनाउन एमालेले मिसन २०८४ सञ्चालन गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖