• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ओलीलाई गुल्मेलीकाे माया : कफीकै माला, कफीकै उपहार


  • धनकुटा खबर
  • .

नेपालमा गुल्मीको आँपचौरलाई कफीको उदगम स्थल मानिन्छ । गत बुधबार मुसिकोट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न वामी आएका नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दम्पत्तिलाई आयोजकले कफीको माला लगाइदिए ।

स्वागत पछि मञ्चमा बसेका ओलीले फुलकाे माला टेवलमा राखे । कफीको माला पहिरिरहे । ओली दम्पत्तिले त्यति मात्रै गरेनन्, केहिबेर मालाको बिषयमा गफ पनि गरे । भवन उद्घाटन र सम्बाेधन सकेर फर्किने समयमा नगरपालिकाले मायाकाे चिनाे स्वरूप ओलीलाई कफीकै उपहार दियो ।

कफी गुल्मी जिल्लाको पहिचान हो । कफीसँग गुल्मीको करिब ८० वर्ष पहिलेको इतिहास छ । जहाँ नेपालमै पहिलो पटक तत्कालीन आँपचौर गाविसका स्थानीय हिरा गिरीले म्यानमारबाट ल्याएर कफीको बिरुवा रोपेका थिए । आँपचौरका कफी बगैँचा तत्कालीन राजा वीरेन्द्रले समेत अवलोकन गरेका थिए । गुल्मीकै कारण नेपालभर कफीको व्यावसायिक खेती विस्तार सुरु भएकाे मानिन्छ । गुल्मीमा कफीको विकास र विस्तारका लागि ०४१ सालमा कफी विकास केन्द्र स्थापना गरिएको छ ।

पछिल्लो समय कफीमा सेतो गवारो र सिंदुरे रोगको प्रकोप देखिएको छ । जसले गर्दा किसान हैरान् छन् । तर, पनि कफी खेतीको आकर्षण घटेको छैन । कफीको उद्गम स्थल आँपचौर मुसिकोट नगपालिका-५ मा पर्ने भएकाले नगरलाई पहिचान जोगाउनुपर्ने चुनौती पनि छ । किसानले कफीका बोटहरु काटेर अरु खेती गर्न थालेपछि कफीको उद्गम जिल्लामै कफीको उत्पादन ह्वात्तै घट्दै गयो । जसले मुसिकोटसंगै जिल्लाको पहिचान गुम्ने भएपछि स्थानीय तहपछि मुसिकोट नगरपालिकाले कफीको क्षेत्रमा थुप्रै काम गरेको छ । जसका कारण किसानहरू उत्साहित भएका छन् ।

‘कफी लगाऔँ, आम्दानी बढाऔ’
मुसिकोटले ०७४ सालबाटै ‘कफी लगाऔँ, आम्दानी बढाऔ’ अभियान सुरु गरेको छ । कफी क्षेत्र बिस्तारमा टेवा पुर्‍याउने उद्देश्यले कार्यविधी निर्माण गरेर एक सय बिरुवा कफी रोप्ने किसानलाई १० हजार अनुदानको व्यावस्था गरिएको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताए । अभियान अन्तर्गत अहिलेसम्म एक लाख एक हजार पाँच सय कफीका बिरुवा रोपिएको छ ।

कृषि पर्यटन र उद्योग नै मुसिकोटको समृद्धिको आधार भएकाले कफीको विकासमा आफुहरुको जोड रहेको खरेलले बताए । अभियानबाट एक सय २७ जना कृषक र चार समुह लाभान्वित भएका छन् । त्यस्तै नगर र कृषि ज्ञान केन्द्र गुल्मीको साझेदारीमा २० हजार, प्रधानमन्त्री आधुनिकरण परियोाजना मार्फत १४ हजार तीन सय कफीका बिरुवा नगरका विभिन्न स्थानमा रोपिएको नगरपालिकाका कृषि अधिकृत जनक पौडेलले जानकारी दिए ।

कफी विकास केन्द्र मार्फत करिव दुई सय रोपनी जग्गामा कफी बिरुवा रोपेर बगैँचा बिस्तार, नर्सरी स्थापना र कफी अनुसन्धानका कामहरु अगाडि बढेको पौडेलले बताए । मुसिकोट नगरपालिका-५ आँपचौरमै पाँच हजार कफीका बिरुवा रोपिएको छ । मुसिकोट नगरपालिका-३ र ५ लाई कफी पकेट क्षेत्र बनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖