• Sunday 4th of October 2026

शंकास्पद कागजात भेटिएपछि ६० किलो सुन प्रकरणमा यसरी जोडिए दिपेश पुन


  • धनकुटा खबर
  • .

काठमाडौ । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन र ६० किलो सुन प्रकरणमा समातिएका होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य यस अघि नै प्रहरीले पत्ता लगाइसकेको थियो। सुन प्रकरण बाहिरिएसँग पूर्व उपराष्ट्रपति पुनको परिवारसँगै दावाको तस्बीर पनि सामाजिक संजालमा भाइरल भएको थियो। यद्यपी पुन परिवारले अन्य प्रसंगमा केही वर्ष अगाडी खिचिएको तस्बीर भनेर खण्डन गरेको थियो।

नागरिक दैनिकले साउन १६ गते प्रकाशन गरेको ‘ज्वाइँ बनेका दावाको माओवादी नेतासँग सिधा सम्पर्क’ शीर्षकको समाचारमा पुनले आफूलाई दावाको अपराध कर्मबारे थाहा नभएको बताएका थिए। अब भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान सुरु गरेको छ।

दावा छिरिङमार्फत तस्करीमा उनको संलग्नताबारे प्रहरीले अनुसन्धान सुरु गरेको हो। प्रहरीले उनको संलग्नता हुन सक्ने शंकास्पद कागजात चार दिनअघि फेला पारेपछि अनुसन्धान सुरु गरेको हो।

‘हामी अनुसन्धान गर्दैछौं, उहाँहरूको सम्बन्ध पारिवारिकजस्तै देखिएको छ, सम्बन्ध पारिवारिक मात्रै हो कि व्यापारिक साझेदारी पनि हो भन्नेबारे हामीले अनुसन्धान सुरु गरेका छौं,’ सिआइबी उच्च स्रोतले भन्यो। पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको हो। ‘दावाले बिहे गरेका रोल्पाली महिला अमला रोकामार्फत पूर्व उपराष्ट्रपति परिवारसँग सम्बन्ध बढाएको देखिन्छ,’ स्रोतले भन्यो।

पूर्वराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू जितेन्द्र पुन र दीपेश पुन, बुहारी जुना पुनसँग दावाको बारम्बार भेटघाट भएका भिडियोहरू भेटिएका छन्। दावाले पुनको घरमा पुगेर भेटघाट गरेका, पारिवारिक रूपमा सँगै खाना खाएका तथा विभिन्न स्थानमा घुम्न गएका, तिहारमा भाइटीका लगाएका तस्बिर सार्वजनिक भएका छन्।

‘शंका गर्ने आधार धेरै छन्। हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौं,’ सिआइबी उच्च स्रोतले भन्यो। तर दावाले यो विषयलाई यसअघि नै अस्वीकार गरेका थिए।

राजस्व अनुसन्धान विभागले साउन ३ मा ६० किलो सुन बरामद गरेपछि र होटल भियानामा छापा मार्नु केही दिनअघि मात्रै अमला रोका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा पुगेर खाना खाएको भिडियो सामाजिक सञ्जालमा आएको थियो। त्यति मात्र होइन, बुहारी जुनाले दावालाई भाइटीका लगाएको तस्बिर पनि बाहिरिएको थियो। जसले गर्दा उनीहरूको सम्बन्ध पारिवारिक रहेको देखिन्छ। पूर्वराष्ट्रपति पुनका जेठा छोरा अमेरिका पुगेका छन्। तीन महिनाअघि उनी किन र कसको खर्चमा अमेरिका पुगे भन्ने खुलेको छैन। ‘जितेन्द्र दावाकै खर्चमा अमेरिका गएका हुन्,’ स्रोतले भन्यो। दावा छिरिङ सुरक्षा निकायले प्रयोग गर्ने सुराकी भएका कारण पनि उनी बढी निगरानीमा परेका थिए। उनले प्रहरीलाई सुराकी दिने नाममा आफ्नो पहुच बनाएका थिए।

‘दावा छिरिङले सुरक्षा निकायलाई पनि चिनियाँ नागरिकबारे सुराकी दिने गरेको पाइएको छ। उनी त्यही आधारमा विगतमा जोगिँदै आएका थिए,’ स्रोतले भन्यो। छिरिङको सम्पर्क माओवादी केन्द्रका उच्च तहका नेताहरू र उनीहरूका परिवारसँग बाक्लो उठबस भएकाले पनि तस्करीका लागि सहज भएको स्रोतले जनाएको छ। त्यसैले प्रहरीले उनीहरूको ‘कनेक्सन’बारे अनुसन्धान सुरु गरेको हो।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖