एजेन्सी – जिम्बावेका कप्तान सिकन्दर राजालाई आगामी दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लाग्ने भएको छ । आयरल्यान्डसँगको पहिलो टि२० आई खेलमा कर्टिस क्याम्फर र जोशुवा लिटिलसँग राजाले ब्याटिङ गर्नेक्रममा झगडा गरेका थिए ।
क्याम्फरलाई राजाले ब्याटले नै हान्न खोजेका थिए । त्यसको कारण राजालाई आइसिसीले कारबाही स्वरुप ५० प्रतिशत म्याच फि र २ डेमेरिट प्वाइन्ट अंक दिएको थियो । २४ महिनाभित्र राजाको ४ डेमेरिट प्वाइन्ट भएपछि दुई खेल प्रतिबन्ध लागेको हो ।
राजाले आयरल्यान्डसँगको बाँकी दुबै खेल गुमाउने छन् । कर्टिस क्याम्फर र जोशुवा लिटिललाई भने खेलको १५ प्रतिशत म्याच फि जरिवना लागेको छ ।
राजालाई प्रतिबन्ध लागेपछि जिम्बावेको कप्तान सन विलियम्सनले गर्नेछन् । राजाले जिम्बावेको टोलीबाट सानदार अलराउन्ड प्रदर्शन गर्दै आएका छन् ।
पहिलो खेलमा आयरल्यान्डलाई हराउन राजाले ६५ रन बनाउनुको साथै ३ विकेट लिएका थिए । १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले अन्तिम बलमा पूरा गरेको थियो । अन्तिम बलमा दुई रन जितको लागि चाहिँदा आयरल्यान्डका विकेटकिपर लोर्कान टकरले बल मिस गर्दा हार्न पुगेको थियो । जिम्बावे र आयरल्यान्डबीच दोस्रो टि२० आई खेल आज जारी छ । अर्को खेल आइतबार हुनेछ ।
