• Sunday 4th of October 2026

चन्द्रागिरीमा प्रचण्डले भाषण गर्दागर्दै जब जनार्दनले फोनमा ‘अर्जेन्ट बात’ गराए


  • धनकुटा खबर
  • .

काठमाडौं । जनतासँग माओवादी अभियान अन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय अनुसार शनिबार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको चन्द्रागिरी नगरपालिका २ मा पुगे ।

कार्यक्रम सन्चालक सिन्धुपाल्चोक १ का सांसद माधव सापकोटा थिए भने बागमती इन्चार्ज जनार्दन शर्मा फोनमा यता उता कुरा गरिरहेका बेला प्रचण्ड भाषण गर्दै थिए । यत्तिकैमा जनार्दनले आफ्नो मोबाइल फोन प्रधानमन्त्रीलाई दिए ।

भाषण गरिरहेका प्रधानमन्त्रीलाई जनार्दनले आयोजना प्रमुख फोनमा छन् भन्दै दिएपछि प्रचण्डले ‘हेलो नविनजी’ भन्दै कुरा गर्न थाले । प्रधानमन्त्रीले भाषण रोकेर फोनमा कुरा गरे पनि भाषणसरह दर्शकले सुनरहेका थिए ।

उनले आफू चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा आएको र यहाँका जनताले सुरुङमार्गबाट पीडित भएको गुनासो गरेको भन्दै एक साताभित्र समस्या समाधानको उपायसहित आफूलाई रिपोर्ट दिन फोनबाटै निर्देशन दिए ।

उनले भने– यो वडा सुरुङमार्गबाट सबैभन्दा प्रभावित रहेछ । यहाँ सुरुङ खन्दाको आवाजले घरहरु चर्किएको कुरा आएको छ । खानेपानीका मुहान सुकेकोलगायत धेरै समस्या रहेछन् । तपाईले एक साताभित्र समस्या समाधानका उपाय र राहतको कुरासहित मलाई भेट्नुस् अरु कुरा भेटमा गरौंला ।
खासमा स्थानीय कार्यकर्ताले नौबिसे नागढुंगा सुरुङमार्गको कारण भएको समस्याबारे सुनाएका रहेछन् । जनार्दन शर्माले प्रधानमन्त्रीले बोल्दा बोल्दै आयोजना प्रमुख नविनमान श्रेष्ठसँग कुरा गराएका रहेछन् ।

प्रधानमन्त्री प्रचण्डले यसपटक आफू जनताको काम गर्न प्रधानमन्त्री भएको भन्दै कसैले हटाउन प्रयास गरेमा करोडौं जनता सडकमा उतारेर प्रतिवाद गर्ने योजना बनाएको समेत सुनाए । तर परिस्थितिले पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना बढेको समेत उनले बताए ।-नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖