• Sunday 4th of October 2026

सापारुमा ‘मुर्रा भैंसी’ डोर्‍याउँदै प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौ । भक्तपुरमा जारी ‘सापारु’ अर्थात् गाईजात्रा पर्वमा दिवंगतका सम्झनामा गाईको आकृति बनाएर झाँकी निकाल्ने चलनको सांस्कृतिक पक्ष निकै मजबुत छ। टोलटोलबाट विभिन्न बाजागाजासहित निस्कने झाँकीले सांस्कृतिक नगरी नै घिन्ताङघिसीको तालमा नाचेको भान हुन्छ। बिहीबार यही जात्राका क्रममा देखिएका केही भैंसीका आकृतिले धेरैको ध्यान खिचे।

प्रधानमन्त्री पुष्पकमल दाहालको आकृति अंकित मास्कले मुहार छोपेर भैंसी डोर्‍याउँदै गरेको दृश्य धेरैले चाख मानेर नियाले। प्रधानमन्त्री भएपछि आफ्नो पहिलो भ्रमणका क्रममा मुलुकका जल्दाबल्दा समस्याको समाधानमा ध्यान नदिएर मुर्रा भैंसी उपहार ल्याएको व्यंग्य त्यसमा गरिएको थियो।

भक्तपुरमा जारी ‘सापारु’ अर्थात् गाईजात्रा पर्वमा दिवंगतका सम्झनामा गाईको आकृति बनाएर झाँकी निकाल्ने चलनको सांस्कृतिक पक्ष निकै मजबुत छ।

‘सीमा सुरक्षालगायत थुप्रै समस्या थाती राखेर भैंसी ल्याउने कुरा आफैंमा हास्यास्पद थियो,’ दाहाल (प्रचण्ड) को अनुहारमा भैसी डोर्‍याउँदै गरेका इटाच्छेका कृष्ण सुकमन्चा भन्छन्, ‘त्यसैले गाईजात्रामा सांकेतिक रूपमा भैंसी डोर्‍याउँदै आएको हुँ।’ भैसीको भेषमा रहेका प्रसन मानन्धरले पनि व्यंग्यको पाटो बन्न पाउँदा खुसी लागेको बताए। ‘मुर्रा… मुर्रा… भन्दै हिँड्दा सर्वसाधारणले निकै चाख मानेर नियाले,’ उनले भने, ‘सर्वसाधारणलाई खुसी बनाउँदै व्यंग्य गर्न पाएकोमा रमाइलो लागेको छ।’

विगतदेखि नै गाईजात्राको सांस्कृतिक पक्षसँगै व्यंग्यात्मक पाटो पनि भक्तपुरमा देखिँदै आएको छ। त्यही मेसोमा भैंसीका आकृतिसहित विभिन्न मुलुकका अन्य जल्दाबल्दा घटनामा संलग्न नेताका अनुहार पनि देखिए। जस्तो कि सुन काण्डको झाँकीमा महराका आकृति झल्किन्थ्यो भने ललिता निवासको झाँकीमा माधव नेपालको अनुहार देखिन्थ्यो।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औंलामा नेपाली नेताहरूको तस्बिर झुन्ड्याउँदै हिँडेको झाँकीले पनि धेरैको ध्यान खिच्यो। कसरी नेपालका नेताहरू भारतको इसारामा चल्छन् भन्ने सन्देश उक्त झाँकीले दिएको थियो।

विगतदेखि नै गाईजात्राको सांस्कृतिक पक्षसँगै व्यंग्यात्मक पाटो पनि भक्तपुरमा देखिँदै आएको छ। त्यही मेसोमा भैंसीका आकृतिसहित विभिन्न मुलुकका अन्य जल्दाबल्दा घटनामा संलग्न नेताका अनुहार पनि देखिए।

नेपालमा लागु हुँदै गरेको एमसिसी पनि भक्तपुरको व्यंग्यमा छुटेन। प्लास्टिकका मिसाइलसहित दुई पक्ष विभिन्न देश जुध्दै गरेको झाँकीले स्थानीय सर्वसाधारणको मात्र होइन, पर्यटकको पनि ध्यान तान्यो। दुई ठुला मुलुकबीचको द्वन्द्वमा सानो नेपाल कसरी मिचिँदै छ भन्ने भाव उक्त व्यंग्यमा झल्केको थियो। त्यस्तै नागरिकता विधेयकदेखि रोजगारी र फोहोरको समस्यालाई समेत व्यंग्यमार्फत चोटिलो प्रहार गरियो।

रवि लामिछानेको तस्बिरदेखि ‘मिसन २०८४’ समेत भक्तपुरको गाईजात्रामा व्यंग्यात्मक खुराक बने। ‘टोलटोलबाट निस्केका सांस्कृतिक झाँकीसहितका व्यंग्यात्मक आकृतिले सर्वसाधारणलाई सचेत बनाएको छ,’ रमेश शिल्पाकार भन्छन्, ‘सापारुको सुन्दरतासँगै व्यंग्यात्मक पाटो पनि हेर्न पाइयो।’

संस्कृतिविद् ओम धौभडेल झन्डै ५०० वर्ष अगाडि जगतप्रकाश मल्लको पालादेखि व्यंग्य गर्ने छुट मिलेको सुनाउँछन्। उतिबेला राजामा सीमिति व्यंग्य अहिले मुलुकका विभिन्न समस्यासँगै अन्तर्राष्ट्रियस्तरसम्म पुगेको उनले बताए। ‘यो जबर्जस्ती हाँस्न र कसैलाई लाञ्छना लगाउन गरिएको व्यंग्य मात्र होइन,’ धौभडेल भन्छन्, ‘मुुलुकको अवस्थाप्रति जनता सचेत होउन् भन्ने आह्वान पनि हो।’

अन्य समयमा भन्दा गाईजात्राको समयमा गरिने यस्ता व्यंगप्रति समाजको चासो र समर्थन हुने उनको बुझाइ छ। ‘यहाँ गरिएको व्यंगलाई हजारौंको भिडले समर्थन पनि गरेको हो,’ उनले भने, ‘यसले सर्वसाधारणलाई सचेत बन्न र पीडकलाई सुध्रनसमेत सहयोग पुर्‍याउँछ।’

यो जबर्जस्ती हाँस्न वा कसैलाई लाञ्छना लगाउन गरिएको व्यंग्य होइन। मुलुकको अवस्थाप्रति जनता सचेत होउन भन्ने आह्वान पनि हो। अन्य समयमा भन्दा गाईजात्रमा गरिने यस्ता व्यंग्यप्रति समाजको चासो र समर्थन बढी हुन्छ।

-ओम धौभडेल, संस्कृतिविद्

बिहीबारको सापारुमा दुई दर्जनजति व्यंग्यका झाँकी निस्केको उनको अनुमान छ। बिहीबार गाईजात्रा मुख्य रूपले मनाइए पनि कृष्ण अष्टमीसम्म बाजागाजा नाच र व्यंग्य टोलटोलमा चलिरहने उनले बताए। संस्कृति र व्यंग्यको अनुपम नमुना भक्तपुरमा देखिने उनी बताउँछन्।

धौभडेलको भनाइसँग सहमत छन्, भक्तपुरका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं पनि। सापारुमा रमाउँदै गरेका उनी व्यंग्यात्मक यात्राका पनि साक्षी बने। ‘परम्परागत पक्ष त छँदैछ, गाईजात्रा (सापारू) को अर्को सुन्दर पक्ष हास्यव्यंग्य हो,’ वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं सामाजिक सञ्जालमा लेख्छन्, ‘यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकृति विसंगतिविरूद्घ विरोध तथा व्यंग्य हो।’-उपेन्द्र लामिछाने/नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖