• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

तेह्रथुम पुगेर ओलीले भने- हिंसा र मुठभेटले समस्याको समाधान हुँदैन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक गतिविधिले कुनै पनि प्रकारको समस्या समाधान नहुने बताएका छन्। शुक्रबार आफ्नो जन्मथलो तेह्रथुमको म्याङ्लुङमा आयोजित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जे गरे पनि आन्दोलन नहुने बताए।

‘हिंसात्मक रूप दिनु, मुठभेटमा जानु, त्यसले कुनै पनि समस्याको समाधान दिँदैन’, उनले भने। लोकतन्त्रमा लोकतान्त्रिक विधिबाट नै समस्याको समाधान खोज्नु पर्नेमा उनले जोड दिए। लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक विधिबाट शान्तिपूर्ण ढङ्गले नै हुनसक्ने उनले प्रस्ट पारे।

बाटाका प्रदर्शनले, बाटोमा रुख ढालेर समस्या समाधान नहुने उनले उल्लेख गरे। यो कुरा सबैले बुझ्न आवश्यक रहेको ओलीले बताए। एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको ओलीले आरोप लगाए।

देशी विदेशी शक्ति आत्तिएर एमालेलाई अन्यायपूर्ण तरिकाले सरकारबाट हटाइएको ओलीको दाबी छ। एमालेले फेरी पनि जनताको अभिमतमा विश्वास गरेर धैर्यताको साथ सरकारमा पुग्ने अठोटका साथ काम गरिरहेको उनले बताए।

गठबन्धनका षडयन्त्रपूर्ण क्रियाकलाको भण्डाफोर गर्दै एमाले शान्तिपूर्ण ढङ्गले जनताको अभिमतबाट अगाडि आउने उनको भनाइ छ। समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न एमालेले मिसन २०८४ भनेको उनले स्पष्ट पारे। मिसन २०८४ समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने मिसन भएको उनले बताए।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि सङ्कल्प यात्रामा छन्।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖