• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सक्कली पहिचानवादी एमाले हो, अरु नक्कली हुन् : नरबहादुर गुरुङ


  • धनकुटा खबर
  • .

पाँचथर । अनेक अवरोध र विरोध तथा बन्द हडतालबीच पनि नेकपा एमालेले आज पाँचथरमा अपूर्व शक्ति प्रदर्शन गरेको छ । पाँचथरको इतिहासमा अहिलेसम्मकै ठूलो आमसभा गरेर एमालेले कीर्तिमान बनाएको छ ।

पाँचथरको इतिहासमा यति ठूलो र भव्य सभा कहिले पनि नभएको विचार राख्नुहुन्छ एमाले पाँचथर जिल्ला उपसचिव नरबहादुर गुरुङ ।आजको सभाले राष्टिय राजनीतिमा एकसाथ अनेक सन्देश दिएको धारणा नरबहादुरको छ । उहाँ भन्नुहुन्छ – ‘अब नेपालमा वास्तविक पहिचानवादी नेकपा एमाले हो भन्ने स्थापित भयो, पहिचानका नाममा वितण्डा मच्चाउनेहरु नक्कली पहिचानवादी हुन्, नेकपा एमाले सक्कली पहिचानवादी हो ।’

चार दशकदेखि निरन्तर राजनीतिमा क्रियाशील नरबहादुर पूर्वी नेपालमा तथा एमालेभित्र शशक्त हस्तीका रुपमा स्थापित हुनुहुन्छ । उहाँको विचार छ – ‘पहिचानका नाममा पाँचथरलाई केन्द्र बनाएर अनेक हर्कत गर्न खोजिँदै थियो, एउटा जत्थाले एमाले सिद्धियो, अब एमालेको भविष्य छैन भन्दै थियो, आजको सभा र झुलाघाटदेखि चिवा भञ्ज्याडसम्मको यात्राले वर्तमान पनि एमालेकै हो र भविष्य पनि एमालेकै हो भन्ने प्रष्ट देखायो ।’

कथित पहिचानको नाममा साम्प्रदायिक राजनीति गर्न खोज्नेहरु, जातीय सदभाव बिगार्न खोज्नेहरु, समाजमा अशान्ति गर्न खोज्नेहरु परास्त भएको नरबहादुरको विचार छ । विगतमा माओवादीले हिँसात्मक राजनीति गर्दा पाएको असफलताबाट सबैले पाठ सिक्नुपर्ने उहाँको विचार छ ।

जाती, भाषा, संस्कृति र पहिचान एमालेले मात्र बोक्न सक्ने तथ्य अब स्थापित भएको विचार राख्दै नरबहादुर भन्नुहुन्छ, जनताको मन जित्न नसक्नेहरुले हिँसा र साम्प्रदायिकताको बाटो रोजेका छन्, उनीहरुलाई जनताले अस्वीकृत गरिदिएका छन् ।

अबको नेपालमा विकास र समृद्धिका नाममा मात्र राजनीति गर्न सकिने विचार राख्दै उहाँ भन्नुहुन्छ, पहिचानको गलत व्याख्या र अपव्याख्या गर्नेहरु जनताको मन जित्न नसक्ने र मन जित्न सकिन्छ भन्ने आँट नभएकाहरु हुन् ।

एमालेको संकल्प यात्रापछि अब नेपाली राजनीतिले नयाँ मोड लिने र त्यो मोड सुखद हुने नरबहादुरको विचार छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖