• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति राष्ट्रिय सभा अध्यक्षको आपत्ति


  • धनकुटा खबर
  • .

३ पुस, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।

मंगलबार राजधानीमा भएको एक कार्यक्रममा उनले विवाह लगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादकाबीच बनेको बताए ।

‘विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बीच पास भएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने । भारतमा विवाह भएर गएर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने ब्यवस्था रहेको पनि स्मरण गरे ।

नेपालीहरुको विवाह भारत र चीनमा समेत हुने गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले थपे, ‘ठुलो जनसंख्या भएका छिमेकी छन । छिमेकीसँग कहिलेकाहीँ हुने खटपटले भोलि समस्या ल्याउछ कि, भोलि राष्ट्रियतामा खलल पुर्‍याउँछ कि भन्ने आशंका गरिन्छ ।’

कार्यक्रममा राष्ट्रिय सभाकी सदस्य बिमला राई पौडेलले छोरीलाई विश्वास नगर्ने तर बुहारीलाई विश्वास गर्ने कानुनी व्यवस्था रहेको बताइन् ।

‘भारतमा विवाह गरेर जाने नेपाली छोरीले त्यो देशको नागरिक पाउन सात वर्ष कुर्न पर्छ । त्यही देशबाट नेपाली पुरुषसँग विवाह गर्ने महिला (बुहारी)ले तुरुन्तै नागरिकता पाउने व्यवस्था हामीले नै पास गरेर पठायौँ,’ उनले थपिन्, ‘हामी विचरा माननीयहरु प्रभु रिसाउँछन भनेर विभेद रहेको जान्दा जान्दै पनि ठप्पा (समर्थन) लगाउन बाध्य छौँ । दलको ह्वीपको नाममा हामी सांसदका हात बाँधिएका छन् ।”

राष्ट्रिय सभाकी अर्की सदस्य अनिता देवकोटाले छोरा र छोरीको बिचमा विभेद रहेको बताइन । ‘छोराले विहे गरेर ल्याउनेलाई तुरुन्तै नागरिकता दिन्छौ । छोरीले विवाह गरेर ल्याउनेलाई दिदैनौं । यो छोरा र छोरीको विभेद हो,’ उनले भनिन ।

सम्पत्तिमा समान हक स्थापित नहुँदा छोरी विवाह गरेर पुरुषको घरमा जाने प्रचलन रहन गएको उल्लेख गर्दै उनले सम्पत्तिमा समान हक स्थापित गर्न सक्दा धेरै समस्याहरु समाधान हुँदै जाने बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖