• Sunday 4th of October 2026

सल्यान बस दुर्घटना अपडेट : ९ जना घाइते


  • धनकुटा खबर
  • .

सल्यान — बस दुर्घटना हुँदा सल्यानमा ९ जना घाइते भएका छन् । बाग्चौर नगरपालिका–१२ बाफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख २५४१ नम्बरको बस बाग्चौर नगरपालिका–७ चौफारीस्थित भित्री कच्ची सडकखण्डमा आइतबार बिहान साढे १० बजे दुर्घटना भएको हो ।

नौ जना घाइतेमध्ये दुई जना सख्त घाइते रहेको र सात जनाको अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

उनका अनुसार घाइते हुनेमा बाग्चौर नगरपालिका–६ चिसापानी बस्ने २५ वर्षीया रन्जना शाह, चौलाबोट बस्ने ६० वर्षीय गमबहादुर ओली, २९ वर्षीया गीता बुढाथोकी, रातामाटा बस्ने ६३ वर्षीय विक्रम ओली, मालजुडा बस्ने २७ वर्षीया लीला खत्री ओली, कोबारा बस्ने ६५ वर्षीया तीलसरा विक लगायत रहेको प्रहरीले जनाएको छ । अन्यको नाम खुल्न बाँकी छ । जसमध्ये रन्जना शाह र गमबहादुर ओली सख्त घाइते भएका हुन् ।

घाइते सबैलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको र घाइते सबैको बाग्चौरस्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको उनले जानकारी दिए । ‘गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖