• Sunday 4th of October 2026

प्रहरीले गाडी रोकेर असान्दर्भिक र मनोमानी प्रश्न गरे :मेयर बालेन


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नी श्रीमती सवार सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेको घटनाबारे प्रस्टीकरण दिएका छन्।

शनिबार साँझ मेयर बालेनकी श्रीमती सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले चेकजाँच गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाइदिने धम्कीयुक्त स्ट्याटस लेखेका थिए।

आइतबार साँझ विज्ञप्ति जारी गर्दै मेयर बालेनको सचिवालयले प्रहरीले गाडी रोकेर असभ्य व्यवहार गरेको बताएको छ।

सार्वजनिक बिदाको दिन गाडी चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिक प्रहरीले रोक्दा उक्त परमिट गाडीमा नभएको सचिवालयले स्वीकार गरेको छ।

सुत्केरी सवार गाडीलाई मानवीय संवेदनशीलताको ख्याल नराखी ७ मिनेटसम्म सडक किनारामा राख्न लगाएर ट्राफिक प्रहरीले असान्दर्भिक र मनोमानी प्रश्न गरेको विज्ञप्तिमा उल्लेख छ।

बालेन पत्नी काफ्ले सुत्केरी भएको र एनआईसीयूमा रहेको बच्चालाई स्तनपान गराउन अस्पताल गएको विज्ञप्तिमा उल्लेख छ।

‘शिशुलाई स्तनपान गराई फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए। त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नुपरेको व्यहोरा जानकारी गराए। सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’

सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो? कहाँ हो? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको सचिवालयले दाबी गरेको छ।

‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

फेसबुकमा बालेनले लखेको उत्तेजक स्ट्याटसबारे भने विज्ञप्तिमा केही पनि उल्लेख गरिएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖