• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

तोरीबारीमा श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

१३ पुस, पोखरा । श्रीमती हत्या आरोपमा बिहीबार प्रहरीले पक्राउ परेका ३६ वर्षीय रत्नबहादुर घर्तीले श्रीमती २९ वर्षीया रेखा घर्तीलाई तुनाले बाँधेर हत्या गरेको खुलेको छ । घर्तीको शव स्थानीय विश्वराज पौडेलको तोरीबारीमा फेला परेको थियो ।

म्याग्दीको धौलागिरी ७, ताकम घर भई घर्ती परिवार केही समयदेखि पोखरा २९, नौबीसेमा बस्दै आएका थिए । बिहीबार दिउँसो श्रीमतीलाई अर्कै पुरुषसँग रंगेहात देखेपछि दुवैलाई लखेटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘श्रीमती र अर्को केटालाई सँगै देखेपछि उनले दुवैलाई लेखेटेका थिए । तर, त्यो केटालाई समाउन नसकेपछि फर्किएर आफ्नै श्रीमतीलाई नै मारेका हुन्’, एक प्रत्यक्षदर्शीले भने, ‘हुडीको तुनाले बाँधेर मारिएको हो ।’

जिल्ला प्रहरी कार्यालय, कास्की प्रमुख एसपी मोहन थापाका अनुसार प्रेमी भनिएका अर्का पुरुष भारतीय नागरिक हुन् ।

उनले पनि लखट्ने क्रममा ती पुरुषलाई समाउन नसकेपछि आवेशमा आएर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

‘अर्को केटासँगै भाग्नेबेला समाउन सक्नुभएनछ । अनि पछि त्यही आवेगमा आएर आफ्नै श्रीमतीको घाँटी थिँची घटना घटाएको खुल्न आयो,’ एसपी थापाले भने, ‘तुनाले बेस्सरी कसेर हत्या गरेको खुलेको छ ।’

रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् । उनीहरुका २ बच्चा पनि रहेको प्रहरीले जनाएको छ । एसपी थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

घटना घटेको केहीबेरमै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेकाले घर्ती तत्कालै पक्राउ परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖