काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनपिसप टी२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिस क्लबले वीरगञ्जस्थित नारायणी रंगशालामा शनिबार खेलिएको फाइनल खेलमा पर्सा क्लब–११ लाई एक सय रनको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्साले भने ११ ओभरमै अलआउट हुनुअघि ४५ रनमात्र बनाउन सक्यो ।
पहिलो ब्याटिङ गरेको पुलिसका लागि करण केसीले अविजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए । अर्जुन साउदले पनि २६ रन बनाए । शंकर राणाले १९ रन जोडे । ओपनर दिलीप नाथले १७ रन बटुले । कप्तान आरिफ शेख १६ रनमा आउट भए ।
पर्साका बलर सफिउल्लाह अन्सारी र पवन सर्राफले दुई–दुई तथा रुपेश सिंह र रंजित कुमारले एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको पर्साका लागि ओपनर अनिल शाहले मात्र दोहोरो अंकमा रन बनाउन सके । उनले १३ रन बनाएका थिए ।
पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए । ललित राजवंशी र रासिद खानले दुई–दुई विकेट हात पारे । करण केसी र शेर मल्लले एक–एक विकेट लिए ।
चर्चित लेग–स्पिनर सन्दीप लामिछानेको कप्तानीमा पर्साको टोली फाइनलसम्म पुगेको थियो । तर, शनिबारको फाइनल खेल भने सन्दीपले खेलेका थिएनन् । बलात्कार कसुरमा शुक्रबार जिल्ला अदालत काठमाडौँबाट दोर्षी करार भएका कारण उनले फाइनल खेल नखेलेका हुन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल ग¥यो । तेस्रो स्थानका लागि शनिबार नै खेलिएको खेलमा आर्मी क्लबले भारतको वन्डरर्स क्लब नोयडालाई ६ विकेटले हराउँदै तेस्रो स्थानमा हासिल गरेको हो ।
