• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

८४ मा कांग्रेस पत्तासाफ हुनुसक्छ : प्रदीप पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकार गएर कांग्रेसका मन्त्रीहरुले उल्लेख्य परिणाम दिन नसकेको भन्दै पार्टीले समुदायमा लैजाने विषय नै नभएको बताएका छन् । शनिबार केन्द्रीय समिति बैठकमा पौडेलले कांग्रेसको समुदायमा कांग्रेस कार्यक्रममा आफूहरु जाँदा जनतालाई बताउने विषय नभएको र नेतृत्वका कारण कांग्रेस प्रतिरक्षात्मक मात्र भएको बताए ।

‘सरकारले काम पनि नगर्ने, आफ्नो पालो आउँदा समर्थन पनि प्राप्त हुँदैन भन्ने डरले केही पनि नगर्ने हो भने ८४ को निर्वाचनमा कांग्रेस पत्तासाफ समेत हुनसक्छ,’ उनले भने, ‘कांग्रेसले देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नल्याएसम्म र अहिलेकै अवस्थामा कम्तिमा म कांग्रेस नेतृत्वलाई डिफेन्स गर्न सक्दिनँ ।’

पौडेलले भौतिक विकासमा नियमित काम मात्र गरेर जनताले सरकारले काम गरेको अनुभूति गर्न नसक्ने बताए । ‘जनतालाई चाहिएको सुशासन हो, भ्रष्टाचार अन्त्य हो,’ उनले प्रश्न गरे, ‘विडम्बना, अहिले जनताले हामीलाई भ्रष्टाचारमा मुछिएको पार्टी भनेर बुझ्छन् कि भ्रष्टाचार अन्त्य गर्ने अभियान छेडेको पार्टी भनेर ?’

उनले नेपालमा भ्रष्टाचार अन्त्यका लागि र सुशासन कायम गर्न आफैंमाथि छानबिन हुने परिस्थिति आफैंले सिर्जना गर्न सक्नुपर्ने पनि बताए । पछिल्लो समय जनताको निराशा बढ्दै गएको र उनीहरु आक्रोशित हुने क्रम बढ्दो रहेको बताए ।

‘ललितपुरमा जे भयो,’ उनले भने, ‘त्यसले युवा, नेपाली जनताको आक्रोश बढ्दै गएको स्पष्ट पारेको छ, हामीले छिट्टै कार्यशैली फेरेर प्राथमिकता बदलेर अगाडि बढ्यौँ भनेमात्र कांग्रेस भएको अनुभूत जनताले गर्न पाउँछन् ।’ उनले जनताको प्रश्न सामना गर्न सक्ने भएर अगाडि बढ्नु पर्ने बताए ।

‘हामी अहिले शिक्षा तथा स्वास्थ्य गुणस्तरीय र गुणस्तरहीन भनेर बहस गरिरहेका छौँ,’ पौडेलले भने, ‘शिक्षा, स्वास्थ्य पनि गुणस्तरीय र गुणस्तरहीन भनेर बहस गर्नु पर्ने विषय हो र ? शिक्षा भनेकै गुणस्तरीय हुनुपर्छ, स्वास्थ्य भनेकै गुणस्तरीय हुनुपर्छ । दाहिने खुट्टाको अप्रेशन गर्नु पर्नेमा देब्रेको अप्रेशन गर्नु पनि स्वास्थ्य सेवा हो र ?’

उनले केन्द्रीय कमिटी बैठकमा अजेन्डामाथि छलफल हुनुभन्दा विषयान्तर बहस हुँदै गएको बताउँदै विषयमै केन्द्रित रहेर सार्थक र गहन छलफल गर्न सदस्यहरुलाई आग्रह गरे । उनले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदन पनि बाध्य भएर बनाइएका प्रतिवेदनजस्तो मात्र भएको बताए । ‘हाम्रा मन्त्रीहरुले ल्याउनु भएको प्रतिवेदनमा उल्लेख भएअनुसार जनताले आभास गर्ने गरि प्रगति भएको छ त?, उनको प्रश्न थियो ।

अर्थतन्त्रका सूचांकहरु सकारात्मक छन् भनेर भनिरहँदा यो सरकारले गर्दा रेमिट्यान्स बढेको हो या होइन, वैदेशिक मुद्रा सञ्चिती यो सरकारका कारण बढेको हो या होइन भन्ने प्रश्न पनि उनले राखे ।

उनको अर्को प्रश्न थियो, ‘बैंकमा निक्षेप बढ्नु तर बजारमा लगानी हुन नसकेको अवस्था छ, यो सरकारले के कार्ययोजना ल्याएको छ त ?’ उनले भने, ‘खुद्रा व्यापारीहरु सटर बन्द गरेर कोही विदेश हानिएका छन्, कोही पठाओ, इनड्राइभर चलाउन बाध्य भएका छन् ।’

आर्थिक वर्षको दुई त्रैमास सकिँदासम्म ११ प्रतिशत मात्र पूँजीगत खर्च नहुनु र नयाँ कार्यक्रम नआएनुले अर्थतन्त्र समस्यामै रहेको बताए । तीनै तहका सरकारहरुले जनताको पक्षमा काम गरेर रिपोर्ट कार्डमा उपलब्धि देखिने स्थिति निर्माण गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ । यसका लागि पार्टीका कार्यक्रमहरु छरितो, छिटो र सकारात्मक सन्देश जाने गरि सम्पन्न गर्ने मोडालिटी तयार पार्नु पर्ने पनि पौडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖