• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री श्रेष्ठले दिए ४८ घरधुरी पहरी जातिलाई न्यानो सिरक


  • धनकुटा खबर
  • .

सिन्धुली। बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका ४८ घरधुरी पहरी जातिलाई फाइबर सिरक वितरण गरेका छन्।

मन्त्री श्रेष्ठले सोमबार सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा-२ बञ्चरेका सीमान्तकृत पहरी जातिका ४८ घरधुरीलाई प्रति परिवार एक थान फाइबर सिरक वितरण गरेका हुन्।

उनले एक औपचारिक कार्यक्रमका बिचमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडा र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वज वाइवा समेतको उपस्थितिमा सिरक हस्तान्तरण गरेका छन्।

सिरक हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले सीमान्तकृत जातिहरुलाई सीप सिकाउने र उत्पादनमा जोड्ने काम गर्ने बताए। उनले सीमान्तकृत जाति बसोबास गरिरहेका स्थानमा भौतिक पूर्वाधार निर्माणमा जोड दिने पनि बताए । त्यस्तै, पहरीको भाषा र संस्कृति संरक्षण तथा सम्बद्र्धनका लागि पनि प्रदेश सरकारले काम गर्ने उनको भनाइ छ।

चिसोको समयमा न्यानो सिरक पाएपछि स्थानीय सिर्जना पहरीले आफ्नो परिवारमा ९ जना सदस्य रहेको र सिरक अपुग रहेको अवस्थामा सरकारले न्यानो सिरक दिएकोप्रति खुशी व्यक्त गरिन्। त्यस्तै, स्थानीय जगत पहरीले सरकारले न्यानो कपडा दिदाँ आफुहरुको जिवन तातो हुने बताए।

मन्त्री श्रेष्ठले यस अघि मकवानपुर जिल्लाका बनकरिया जाति, सिन्धुली जिल्लाका लोपोन्मुख हायु जाति र थामी जातिलाई पनि न्यानो सिरक वितरण गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖