रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भन्दै गाउँपालिकाले दिएको सार्वजनिक बिदा पुन: फिर्ता लिएको छ ।
सो गाउँपालिको नवनिर्मित कार्यपालिकाको प्रशासकीय भवन पुस १९ गते प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने भन्दै गाउँपालिकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले मंगलबार दिउँसो एक सूचना जारी गरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्था, लगायत गाउँपालिका क्षेत्रभित्रका बैँक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको थियो ।
सो निर्णयको व्यापक विरोध भएपछि साँझ सुवेदीले अर्को सूचना जारी गरी सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको जानकारी गराउनुभएको छ । प्रचण्डको स्वागतमा गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय भएपछि आलोचना भएको थियो ।
