• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

शिवराज हत्या प्रकरण: सुरुङभित्र लगेर गोली प्रहार, श्रीमान्‌–श्रीमतीसहित चार जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं– दाङको कोइलाखानीको सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको पाइएको छ। उक्त घटनामा श्रीमान्‌–श्रीमतीसहित चार जना पक्राउ परेका छन्। दाङको घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा शुक्रबार मृत भेटिएका थिए। बंगलाचुली गाउँपालिका-४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा पुरुषको शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा केसीको हत्या भएको संकेत मिलेपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको हो।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका-४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षीय तिलक पुन र भरूवा बन्दुक दिने व्यक्ति मेघराज कुँवर रहेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार मृतक केसीको दीपासँगको अनैतिक सम्बन्धका कारण हत्या गरिएको खुल्न आएको छ। पुस ८ गते शिवराज र दीपा बंगलाचुलीको गदारी भन्ने स्थानमा गएका थिए। तर बेलुका दीपा मात्रै घर फर्किइन्। शिवराज घर नफर्किएपछि उनका आफन्तले सोधपुछ गर्दा दीपाले आफूलाई जानकारी नभएको जवाफ दिइन्।

त्यसपछि १० गते भने शिवराजका दाई डम्बर केसीले खोजतलासका लागि निवेदन दिएका थिए। तर दीपा १३ गते छोराछोरी सातमा लिएर भारत जाने लागेपछि उनले नै लुकाएर राखेको भन्दै डम्बरले पुन: प्रहरीमा निवेदन दिएका थिए। १२ गते प्रहरीले खोजतलास गर्दै जाँदा राति साढे ९ बजेतिर भुमेबरा सामुदायी बनको रुकधने कोइला खानीमा शिवराजको शव फेला परेको थियो।

मृतकका साला नाता पर्ने शिवराज वलीले किटाने जाहेरी दिएपछि दीपा, उनका श्रीमान शेरबहादुर र दीपाका भाई तिलक पुन मगरलाई १५ गते दाङको अमिलिया जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो। सोधपुछका क्रममा भरुवा बन्दुकको प्रयोग गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

यस्तै १५ गते नै मेघराज कुँवरको घरबाट बन्दुक एक नाल, बन्दुकमा प्रयोग हुने छर्रा १०८ थान, गोलाकार ठूला दुई थान गोली, लाम्चाकार ठूला गोली ३९ थान, बारुद ७५ ग्राम, केप ५ थान र हरियो सुती कपडाको लत्ता एक थान बरामद गरी मेघराजलाईसमेत पक्राउ गरेको थियो। पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖