काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी चितवनका सचिवालय सदस्यदेखि नगर कमिटीका उपसचिवसम्मले पार्टी छाड्नु भएको छ ।
सो पार्टीको नेतृत्व, सांगठनिक गतिविधि, कार्यशैली र विचारधारात्मक पक्षलाई हेर्दा दिनानुदिन दक्षिणपन्थी अवसरवादी दिशामा तल्लीन रहेको र एउटा विद्रोही क्रान्तिकारी पार्टीमा हुनुपर्ने आधारभूत कुराहरू केही नपाइएको हुँदा दिनानुदिन पार्टी आफ्नै कारणले कमजोर बन्दै गएकोले पार्टी परित्याग गर्नुपरेको उहाँहरूले उल्लेख गर्नुभएको छ ।
पार्टीमा व्यक्तिवादी प्रवृत्ति, चाकडी, चाप्लुसीका अतिरिक्त निजी स्वार्थले अभिप्रेरित रही पार्टी सदस्य र कार्यकर्ताप्रति बेवास्ता गर्ने, पक्षपात गर्ने र निम्न पुँजीवादी आचरण र व्यवहार गर्ने गरेका कारणबाट सो पार्टीले भन्ने एउटा र गर्ने अर्को भएबाट विश्वास टुटेको उहाँहरूको भनाइ छ ।
उहाँहरूले संयुक्त विज्ञप्ति जारी गरी सो पार्टीले समाजवादी क्रान्तिप्रति निष्ठा त्यागेको, मार्क्सवादको सैद्धान्तिक र वैचारिक पक्षप्रति उदासीन रहेको, मनोगत आग्रह, पूर्वाग्रह र आत्मरतिमा रमाउने प्रवृत्ति रहेको, कुनै पनि जनपक्षिय एजेण्डा नभएको, भागबण्डाको राजनीतिमा तल्लीन रही पार्टी धान्ने प्रवृत्ति रहेको, विधि पद्धतिको वकालत गर्ने तर, त्यसलाई आफैले लत्त्याउने शैलीबाट अघि बढेको, पार्टी विचार, संगठन र नेतृत्वसँग परिवर्तनका एजेण्डा नभएको, संगठन निर्माण गर्नुको साटो, हामी अमुक पार्टीसँग एकता गर्ने हो भन्ने मानसिकताबाट ग्रसित भई कार्यकर्तालाई अलमल्याउने काम गरेको तथा पूर्व र पश्चिमको विभाजित मानसिकता राखी निषेधको राजनीति गर्ने गरिएको, आर्थिक पारदर्शिता नभएको उल्लेख गर्नुभएको छ ।
पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्य कुवेरसिंह लामा, लोकेन्द्रकुमार श्रेष्ठ तथा राम सेढाईँ हुनुहुन्छ । त्यस्तै जिल्ला कमिटी सदस्य देवबहादुर कुँवर र सुदर्शन कँडेलले पनि सो पार्टी परित्या गर्नुभएको छ । त्यस्तै राप्ती नगर कमिटी उपसचिव योगेश लामा र युवा संघ जिल्ला कमिटी सदस्य रुपेश लामाले पनि उहाँहरूसँगै सो पार्टी परित्याग गर्नुभएको छ ।
