• Saturday 28th of November 2026

माओवादीमा युवा वर्गलाई नाे चान्स : अझै ८ वर्ष दाहालकै नेतृत्व !


  • धनकुटा खबर
  • .

काठमाडौँ । माओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई अझै आठ वर्ष नेतृत्वमा रहन पाउने गरी विधान मस्यौदा तयार पारेको छ । ३४ वर्षदेखि पार्टी नेतृत्वमा रहेका दाहाललाई अनुकूल हुने गरी मस्यौदा बनाइएको हो । पार्टीभित्र पुस्तान्तरणको माग उठिरहेका बेला प्रस्तावित मस्यौदाले नेतृत्वमा युवा आउने ढोका बन्द गरेको छ ।

विधान मस्यौदामा दुई कार्यकाल अर्थात् आठ वर्ष कार्यकारी पदमा रहने व्यवस्था गरिएको छ । यो मस्यौदा फागुनमा हुने विधान अधिवेशनबाट पारित भएमा अध्यक्ष दाहालले अझै दुई कार्यकाल पार्टीको नेतृत्व गर्न पाउनेछन् । हालै ७१ वर्ष पार गरेका उनी विधानअनुसार पार्टीको नेतृत्व छाड्ने बेला ७९ वर्ष पुग्नेछन् । ‘विधानमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने व्यवस्था भएको छ,’ मस्यौदा समितिका एक सदस्यले भने, ‘अझै दुई कार्यकाल प्रमुख नेतृत्वमा रहन अध्यक्ष प्रचण्डलाई विधानले छेक्ने छैन ।’

गत साउनको केन्द्रीय समिति बैठकमा सदस्यले पार्टी नवनिर्माणका लागि नेतृत्व युवामा हस्तान्तरण हुनुपर्ने माग गरेका थिए । कांग्रेसमा पार्टीका सबै तहको कार्यसमिति सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी त्यही पदमा उम्मेदवार हुन नपाउने व्यवस्था छ भने एमालेमा कार्यकारी नेतृत्वको उमेर हद ७० भए पनि हाल उक्त प्रावधान हटाइएको छ । माओवादीको विधान मस्यौदामा कार्यकारी पदमा रहने उमेर हद भने तोकिएको छैन । ‘विधानमा उमेर हद तोकेको भए अध्यक्ष पुस्ताका अधिकांश नेताले बिदा लिनुपर्थ्यो,’ ती नेताले भने, ‘त्यसैले उमेर हद राखेर टाउको दुखाउने काम समितिका सदस्यहरूले गरेनन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖