• Sunday 4th of October 2026

भारतसँग नहारेको नेपाल !


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकेटमा सोमबार भारतविरुद्ध नेपालले ब्याटिङ सुरुवात गर्दै गर्दा टेलिभिजनको प्रत्यक्ष प्रसारणमा एक प्रस्तोताले आफ्ना सहकर्मीलाई सोधे, ‘नेपाली टोली कति ओभरसम्म टिक्ला? २५ या ३०? अर्का प्रस्तोताले मुस्कुराउँदै जवाफ दिए, ‘बढीमा २५ ओभर ।’

अघिल्लो खेलमा नेपालले पाकिस्तानसँग विशाल अन्तरले हारेकाले हुन सक्छ, नेपाली टोलीमाथि उनीहरूको हेर्ने दृष्टिकोण कमजोर थियो।तर नेपाली क्रिकेट टोलीले ४८ दशमलव २ ओभरसम्म टिकेर उनीहरूको पहिलो अनुमानमाथि नै सानदार विजय हासिल गरे।यो नेपालले अनुमानमाथि जितेको पहिलो क्षण थियो।वर्षाका कारण बिथोलिएको नेपाल–भारतबिचको प्रतिस्पर्धा भारतले जित्यो।तर भारतसँग ‘नहारेका’ थुपै्रै क्षण समर्थकलाई उपहारका रूपमा दिन नेपाली टिम सफल रह्यो।

टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको भारतीय टोलीले सोचेको थियो होला, नेपाललाई चाँडै आउट गर्ने अनि आफूले पनि चाँडै विजयी लक्ष्य प्राप्ति गर्ने, वर्षात्को समस्याबाट मुक्ति पाउने।तर भारतीय टोलीको यो सपना पूरा भएन।उनीहरूले सोचेभन्दा निकै बढी अर्थात् २३१ रनको लक्ष्य भारतीय टोलीले सामना गर्नुप¥यो।उदाउँदै गरेको नेपाली टिम नहारेको यो एउटा सानदार क्षण हो।

विश्वकप जितेको भारतीय टोलीसँग नेपाली ब्याट्सम्यान कसरी टिक्लान् भन्ने धेरैको अनुमान थियो।नेपाली खेलाडीले विश्वविख्यात भारतीय बलरको सामना मात्र गरेनन्, ४ छक्का र १८ चौका प्रहार गर्दै नेपालप्रतिको कमजोर अनुमानलाई ‘बाउन्ड्री’ पार गराए।भारतीय टिमले नसोचेको ‘सरप्राइज’ लक्ष्य पनि नेपाली क्रिकेट नहारेको क्षण हो।

आफ्नो टिमको तारिफ गर्न कन्जुस्याइँ नगर्ने भारतीय पत्रिका नवभारत टाइम्स पनि नेपाली खेलाडीको तारिफ गर्न बाध्य रह्यो।‘नेपालका खेलाडीले के मोहम्मद सिराज, के सामी, के शार्दूल सबैको धुलाइ गरे,’ नवभारत टाइम्स लेख्छ, ‘नेपाली ओपनर्सको तुफानी ब्याटिङले भारतीय कप्तान रोहित शर्मा पनि हैरान बने ।’

आम भारतीयले हल्का ठानेको यो म्याच नेपाली ब्याटिङसँगै उनीहरूका लागि भारी बन्न पुग्यो।नेपालको तारिफ गर्न कन्जुस्याइँ गर्ने केही भारतीय मिडियाले समेत भारतीय बलिङको आलोचना गर्न बाध्य बने।यो पनि नेपालले पाएको अर्को विजयको क्षण हो।

आसिफ शेखको अर्धशतकको ब्याटिङपछि त भारतीय च्यानल आजतकले ‘को हुन आसिफ? जसले भारतीय टिमलाई हैरान खेलाउँदैछ’ भनेर समाचारसमेत लेख्यो।नेपालका लागि सबैभन्दा बढी आसिफ शेखले ९७ बलमा ८ चौकासँगै ५८ रन बनाए।कुनै पनि नेपाली खेलाडीले भारतीय मिडियामा यसरी नेपाली खेलाडीले चर्चा पाउनु नेपाल नहारेको अर्को क्षण हो।नेपाली टिमका लागि आजको दिन ब्याटिङको हिसाबले ऐतिहासिक रहेका विभिन्न भारतीय च्यानलमा सुनिनु पनि नेपाली खेलको विजयको क्षण बन्यो ।

सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए।अर्धशतक पूरा नगरे पनि उनी नेपाली दर्शकको मन जित्न सफल बने।उनका दुई छक्काले भारतीय मिडियामा निकै चर्चा बटुले।आठौं नम्बरमा आएर पनि प्रभावशाली रहेको भन्दै उनको तारिफ भयो।संसारभरका नेपालीसँगै विपक्षीको पनि मन जित्न सक्षम उनको सानदार खेल पनि नेपाली क्रिकेट नहारेको प्रमाण हो।त्यसैगरी कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का सहित ३८ रनको योगदान दिए।

दीपेन्द्रसिंह ऐरीले २९ र गुलसन झाले २३ रन बनाए।१७ वर्षीय झालाई भारतीय टिममा सुरुवाती चरणमा खेल्दै गरेका सचिन तेन्डुलकरसँग

तुलना गरियो।पाकिस्तानसँगको उनको पहिलो म्याचको घटनासँग झाको उपस्थितिलाई जोडियो।मास्टर ब्लास्टरसँग कुनै नेपाली खेलाडीको तुलना गरिनु पनि नेपाली क्रिकेटको अर्को सानदार विजय बन्यो।

चार छक्का, १५ चौका

नेपाल र भारतबीचको खेल वर्षाका कारण बारम्बार अवरुद्ध बन्न पुग्यो।पानीको वर्षासँगै बाउन्ड्रीको वर्षा पनि देख्न पाइयो।नेपाली क्रिकेट टोलीले भारतीय बलरको सामना कसरी गर्लान् भन्ने अनुमान गरिँदै गर्दा ४ छक्का र १८ चौका प्रहार गर्दै नेपाली क्रिकेटप्रेमीको मनमा खुसीको वर्षात् गराए।यो नेपाली टिमले जितेको अर्को सानदार क्षण बन्यो।

वर्षात्का कारण बिथोलिएको खेललाई राति अबेर २३ ओभरमा झारियो।खेल २३ ओभरमा १४५ रनको लक्ष्यसहित मैदानमा उत्रेको भारतले नेपाललाई औपचारिक रूपमा पराजित त ग¥यो तर नेपाली समर्थकले नेपाली टिमलाई स्याबासी दिन

कन्जुस्याइँ गरेनन्। ‘नेपाली खेलाडीले कुशल ब्याटिङ गरेर भारतविरुद्ध सम्मानजानक स्कोर बनाए,’ सामाजिक सञ्जालमा तेजनारायण साह लेख्छन्, ‘क्रिकेटप्रेमीलाई बधाई, नेपाली टिमलाई शुभकामना !’

अन्त्यमा ती प्रस्तोता जसले खेलको सुरुवातमा नेपाली टिम सस्तैमा अलआउट हुन्छन् भन्ने अनुमान गरेका थिए।समग्र खेलपछि भन्न बाध्य भए ‘नेपाली क्रिकेटका लागि खास दिन’।यी सबै नेपाली क्रिकेट नहारेको सानदार क्षण बनेका छन्।‘अबको हाम्रो लक्ष्य भनेको विश्वकप हो,’ सामाजिक सञ्जालमा प्रभात न्यौपाने लेख्छन्, ‘आजको नेपालको ब्याटिङ त्यो लक्ष्यको सपना देखाउन सक्षम बनेको छ ।’ -उपेन्द्र लामिछाने/नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖