• Sunday 4th of October 2026

भारतले खेल जित्यो, नेपालले संसारको मन


  • धनकुटा खबर
  • .

दुईपटक विश्वकप उचालिसकेको क्रिकेट महारथी भारतसँगको पहिलो भिडन्तमै नेपालले सम्मानजनक प्रदर्शन गरेको छ । भारतको भन्दा ४४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेको नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा जारी एसिसी एसिया कपमा टेस्ट राष्ट्र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गरेको हो । पराजय भोगे पनि विश्व क्रिकेटका अब्बल खेलाडीले भरिएको भारतीय टोलीविरुद्ध नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे ।

भारतविरुद्ध नेपाली खेलाडीले गरेको ब्याटिङ कौशलको क्रिकेटविज्ञदेखि दर्शकसम्मले प्रशंसा गरेका छन् । यसअघि गत बुधबार नेपालले विश्व क्रिकेट वरीयताको नम्बर एक पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । क्रिकेटका दुई शक्तिराष्ट्रसँगको प्रतिस्पर्धाबाट नेपालले संसारभर आफूलाई चिनाउने मौका पाएको छ भने खेलाडीले अवसरसँगै अनुभव बटुलेका छन् । यी खेलसँगै नेपालले आफू क्रिकेटको उदीयमान राष्ट्र रहेको संकेत पनि गरेको छ ।

भारतविरुद्ध मैदानमा धैर्यसहित सशक्त प्रदर्शन गर्दै नेपाली टोलीले ४८।२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो । नेपाली ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । आसिफले ९७ बलमा ५८ रन बनाए । कुशल ३८ रन बनाएर पेभेलियन फर्किए । यसै खेलबाट भुर्तेलले करिअरको एक हजार रन पूरा गरेका छन् । आठौँ नम्बरमा क्रिजमा आएका अलराउन्डर सोमपाल कामीले ४८ रनको इनिङ्स खेले । दीपेन्द्रसिंह ऐरी र सोमपालबीच सातौँ विकेटको लागि ५० रनको साझेदारी भएको थियो । दीपेन्द्रले २९ रनको योगदान गरे ।

तर, बलिङतर्फ खेलाडी चल्न नसक्दा नेपाल १० विकेटले पराजित भयो । विश्व क्रिकेटमा तहल्का मच्चाएका भारतीय कप्तान रोहित शर्मा र सुभमन गिलले एक सय ४५ रनको लक्ष्य विनाविकेट क्षतिमा पूरा गरे । भारतले दुई सय ३१ रनको लक्ष्य पछ्याउँदा वर्षा भयो । २।१ ओभरमा भारत १७ रन बनाएर खेलिरहँदा खेल करिब एक घन्टा रोकिएको थियो । पुनः सुरु भएको खेलमा भारतले एक सय ४५ रनको नयाँ लक्ष्य पाएको हो ।

कप्तान रोहित र सुभमनले सानदार प्रदर्शन गर्दैै नेपालविरुद्ध १७ बलअघि जित निकालेका थिए । रोहितले ५९ बलमा ६ चौका र पाँच छक्काका साथ ७४ रन बनाए । सुभमनले ६२ बलमा आठ चौका र एक छक्कासहित ६७ रन बनाए । करण केसी, सोमपाल, ललित राजवंशी, सन्दीप लामिछाने, दीपेन्द्र, कुशल मल्ल र गुल्सन झा भारतविरुद्ध विकेटविहीन भए ।

नेपाली कप्तान रोहित पौडेलले मध्यक्रममा ब्याटिङ राम्रो हुन सकेको भए खेल नेपालको पक्षमा आउने सम्भावना रहेको बताए । ‘दुवै ओपनरले धेरै राम्रो खेले । मध्यक्रममा राम्रो हुन सकेन । हामीले अझै राम्रो गर्न सक्थ्यौँ । थप ३०–४० रन बढाउनुपथ्र्यो । २६०–२७० सम्म पुगेको भए खेल हाम्रो पक्षमा आउन सक्थ्यो,’ उनले भने । खेलपछि भारतीय कप्तान रोहित शर्माले पनि नेपालले सुरुमा आफूहरूलाई दबाबमा राखेको प्रतिक्रिया दिए । ‘नेपालविरुद्ध हामी सुरुमा केही दबाबमा पर्‍यौँ । बिस्तारै आफ्नो लय फर्काउन सफल भएका थियौँ । नेपालविरुद्ध बलिङ राम्रो भए पनि फिल्डिङमा चुक्यौँ,’ उनले भने ।

नेपालले टेस्ट राष्ट्रसँग खेलको यो पाँचौँपटक हो । समूह ‘ए’को अघिल्लो खेलमा पाकिस्तानविरुद्ध खेलेको थियो । यसअघि विश्वकप छनोटमा जिम्बाबे, वेस्टइन्डिज र आयरल्यान्डसँग खेलिसकेको छ । सबै टेस्ट प्रतिद्वन्द्वीसँगका खेलमा नेपालले हारको सामना गर्‍यो ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖