नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाएका हुन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी राजनीतिमा बढी सक्रिय हुनका लागि प्रमुख सचेतकबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको प्रमुख सचेतकको भूमिकाबाट राजीनामा दिएको छु । गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो’ काफ्लेले लेखेका छन्, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु ।’
उनले अब पार्टीका काममै अझ बढी सक्रिय हुने पनि जनाएका छन् । ‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु’ उनले भनेका छन्, ‘यस बीचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बागमती प्रदेशका सम्पूर्ण माननीय र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
राजीनामा दिनुमा कुनै असन्तुष्टि नरहेको उनी बताउँछन् । ‘त्यस्तो कुनै असन्तुष्टि भएर राजीनामा दिएको होइन । पार्टीमा सक्रियता बढाउनका लागि हो’ उनले लोकान्तरसँग भने, ‘देश दौडाहामा निस्कन राजीनामा दिएको हुँ ।’
