नयाँ दिल्ली । भारतका महान् क्रिकेटर सचिन तेन्दुल्कर डीप फेकको सिकार बन्ने अर्को सेलेब्रिटी बनेका छन् । आफ्नो एउटा नक्कली भिडियोको बारेमा जानकारी दिँदै सचिन तेन्दुलकरले यस भिडियोमा डीप फेक टेक्नोलोजी प्रयोग गरिएको र आफूलाई एउटा एपको प्रचार गरिरहेको देखाइएको जानकारी दिएका हुन् ।
उनले इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालय र यस मन्त्रालयका केन्द्रीय राज्यमन्त्री राजीव चन्द्रशेखरलाई कारबाही गर्न अपिल समेत गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्– ‘यो भिडियो नक्कली हो र तपाईंलाई धोका दिनको लागि बनाइएको हो । प्रविधिको यस प्रकारको दुरुपयोग सरासर गलत हो । यस्ता भिडियो, एप वा विज्ञापन देखेमा तुरुन्तै खबर गरिदिनुहुन सबैमा अनुरोध छ । सोसल मिडिया प्लेटफर्महरू पनि सजग भई उनीहरू विरुद्ध परेका उजुरीहरूमा यथाशीघ्र कारबाही गर्नुपर्छ । यस सन्दर्भमा तपाईंहरूको भूमिका धेरै महत्त्वपूर्ण छ ताकि गलत सूचना र समाचारलाई रोक्न र डीप फेकको दुरुपयोग अन्त्य गर्न सकिन्छ।’
डीपफेक भिडियोमा सचिन भन्छन्, ‘मेरी छोरी अनलाइन गेम एभिएटर खेल्छिन् र त्यसबाट १८० हजार रुपैयाँ कमाइरहेकी छिन् । अब राम्रो पैसा कमाउन कति सजिलो भएको छ ।’
