• Sunday 4th of October 2026

एसिया कपबाट ‘आउट’ मनभित्र ‘इन’


  • धनकुटा खबर
  • .

एउटा भनाइ छ– खेल जित्नु राम्रो हो। तर मान्छेको मन जित्न पनि जरुरी छ। नेपाली टोली क्रिकेटप्रेमीको मन जित्न सफल भएको छ। पाकिस्तान र भारतसँगको खेलपछि एसिया कपबाट बाहिरिँदै गर्दा नेपाली टोलीले क्रिकेटप्रेमीको मनभित्र बास पाएको छ।

प्रतियोगितामा जितहार सामान्य हो। तर समग्रमा खेल कहिल्यै पराजित हुँदैन। नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको ‘ह्याप्पी ड्रेसिङ रुम’को मूल मन्त्र पनि यही हो। देसाईले ह्याप्पी ड्रेसिङ रुममा खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई जिते पनि हारे पनि प्रोत्साहन गर्न मायाको चिनो बाँड्ने गरेका छन्।

भारतविरुद्धको म्याचपछि त उनले ड्रेसिङ रुमलाई ‘मोर ह्याप्पी’ बनाए। भारतीय टोलीका खेलाडीबाट नेपाली खेलाडीको गलामा माला लगाउँदै गरेको दृश्यले सामाजिक सन्जालमा थप चर्चा बटुलेको छ।

सोमबार भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याटर आसिफ शेख, अलराउन्डर सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीलाई मेडल दिइएको हो। मेडल थाप्ने गलासँग पहिराउने हात पनि उत्तिकै उत्कृष्ट थिए। भारतका स्टार ब्याटर विराट कोहलीले आसिफलाई मेडल लगाइदिए। नेपालका लागि सबैभन्दा बढी आसिफ शेखले ९७ बलमा ८ चौकासँगै ५८ रन बनाएका थिए।

भारतीय अलराउन्डर हार्दिक पाण्ड्याले सोमपाल कामीलाई मेडल लगाइदिए। सोमपाल अर्धशतक बनाउन २ रनले चुकेका थिए। उनले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको योगदान दिएका थिए।

त्यस्तै भारतीय टोलीका प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएका थिए। प्रशिक्षक देसाईले आफ्ना खेलाडीको तारिफ गर्दे भारतीय खेलाडीसँग परिचय गराउँदाको क्षण झनै रोमाञ्चक रह्यो।

प्रशिक्षक मोन्टी देसाईको आगमनपछि उनको नेतृत्वमा नेपाली क्रिकेटले ऐतिहासिक जित हात पारेको छ। मोन्टीले नेपालको खेल मात्र सुधारेका छैनन्, उनले नेपाली खेलाडीको मनोबल बढाउन नयाँनयाँ उपाय पनि अपनाएका छन्। यसै अनुसार उनले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा ल्याएका छन्। उनको पछिल्लो कदमले पनि निकै चर्चा बटुल्यो।

सोमपालले लिए जुत्तामा विराटको ‘अटोग्राफ’

यसै मेसोमा नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिए। एसिया कप खेल्ने क्रममा श्रीलंका रहेका कामीले जुत्तामा कोहलीको अटोग्राफ (हस्ताक्षर) लिँदै गरेको तस्बीर सामाजिक सन्जालमा राखेपछि यसले पनि चर्चा बटुलेको छ।

सोमपालले कोहली एक क्रिकेटर मात्रै नभएर खेलाडीका लागि प्रेरणासमेत रहेको भावना पोखेका छन्। ‘विराट कोहली क्रिकेटर मात्रै होइनन्, विराटसँगको तस्बिर राख्दै उनले लेखेका छन्, ‘उनी भावना हुन्।’

भारतलाई जित्न नसके पनि पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपालले सोमबार भारतविरुद्धको खेलमा गरेको प्रदर्शनको चर्चा खेल सकिएपछि पनि जारी छ। चोक, पसलदेखि सामाजिक सन्जाल र टेलिभिजनमा नेपाली खेलाडीको प्रदर्शनका विभिन्न आयामहरूका चर्चा चलेको छ।

नेपालमा मात्र हैन, भारत र पाकिस्तानी टेलिभिजन च्यानलमा पनि नेपाली टिम र खेलको लामो चर्चा चल्न थालेको छ। भारतसँगको ब्याटिङ र पाकिस्तानविरुद्धको बलिङको चर्चाले नेपाली खेलाडीमा सम्भावना देखिएको धेरैको बुझाइ छ।

‘पाकिस्तानविरुद्धको बलिङ र भारतविरुद्धको ब्याटिङको क्षणलाई निरन्तरता दिने हो भने नेपालले जुनसुकै देशलाई पनि पराजित गर्न सक्छ,’ सामाजिक सन्जालमा रोहन पुडासैनी लेख्छन्, ‘एसिया कपमा नेपालको प्रदर्शन सकिएपछि पनि चलेको यो चर्चाले नेपाली टिमको सुन्दर भविष्य दर्साउँछ।’

स्टेडियम बनाउन पहल लिनेछाैंः बालेन्द्र साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारले जग्गा उपलब्ध गराएर क्रिकेट स्टेडियम बनाउन काठमाडौं महानगरपालिकाले पहल लिने बताएका छन्। नेपाल–भारत खेल हेर्न श्रीलंका पुगेका बालेन शाहले त्यहाँ भएकै स्तरको रंगशाला बनाउन ८०–९० करोड लाग्ने र जग्गा उपलब्ध भए काठमाडौं महानगरपालिकाले बनाउने बताएका हुन्। श्रीलंकामा क्रिकेट हेर्न दुई हजारसम्म नेपाली पुगेको आकलन गर्दै उनले नेपालीहरूको खर्च पनि ३० करोड जति पुगेको हुन सक्ने अनुमान गरे।

मेयर शाहले श्रीलंकाको स्टेडियम पनि त्रिविको जस्तै भएको बताएका छन्। ‘नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ होला,’ उनले लेखेका छन्,‘यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक एक सय रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं।’

क्रिकेटलाई महानगरले प्राथमिकतामा राखेको बताउँदै उनले तल्लो तहका सिकाइ सुविधाका लागि महानगरका वडापिच्छे बलिङ नेट राख्न थालिएको पनि बताएका छन्।-उपेन्द्र लामिथाने/नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖