• Friday 9th of October 2026

१० वर्षमा नेपाल टेस्ट राष्ट्र बन्ने लक्ष्य छ : पारस खड्का


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले मुलुकलाई टेस्ट राष्ट्र बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाललाई अबको १० वर्षमा टेस्ट राष्ट्र बनाउने लक्ष्य रहेको उनले सुनाए ।

शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए)ले क्यानका पदाधिकारीलाई गरेको सम्मान कार्यक्रममा उनले संसारभर बस्ने नेपालीको सहयोग आउने ‘च्यानल’ बनाउन आफूहरू तयार रहेको बताए । यसबाट घरेलु क्रिकेटको विकास हुने उनले उल्लेख गरे ।

“क्रिकेटका गतिविधिहरूमा साझेदारी बलियो बनाउन विश्वभरका नेपालीलाई जोड्न जरुरी छ,” उनले भने ।
थोरै लगानीमा यो स्थितिसम्म आइपुगेको उनले बताए । उनले क्रिकेटको संरचना पनि विकास हुन थालेको जानकारी गराए । अब राष्ट्रिय क्रिकेट मात्र होइन, जिल्ला र स्थानीय संरचनालाई पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

क्रिकेटले देश, खेलाडीका साथै पर्यटन प्रवर्द्धनमा पनि योगदान गरेको उनले बताए । “यो खेललाई कसरी स्थापित गर्ने भन्नेमा सबैको ध्यान होस्,” उनले भने ।

महिला क्रिकेट पनि क्यानको प्राथमिकतामा रहेको उनको भनाइ छ । “महिला क्रिकेटमा २००७ सम्म राम्रो थियो । एसीसीसम्म पुग्यो । तर, पछि खस्कियो । लगानी नै भएन,” उनले भने, “क्यानमा नयाँ टिम आइसकेपछि महिला टिमलाई प्राथमिकतामा राखेका छौँ । सन् २०२६ बाट महिला टिमले राम्रो नतिजा ल्याउने गरी तयारी गरिरहेका छौँ ।”

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले ट्वान्टी–२० विश्वकप २०२४ मा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेको हो ।

क्यानका सचिव खड्का, व्यवस्थापक विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत पदाधिकारीलाई सम्मान गरिएको थियो । एनआरएनएका सचिव पारसमणि पोखरेलले खड्कालाई ‘टोकन अफ लभ’ दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖